यस वर्ष लमजुङमा मह सिकार महोत्सव हुन सकेन

इनेप्लिज २०७२ मंसिर २१ गते ४:२८ मा प्रकाशित

Rss_Images_1434952034583_KK-Myagdi-Honey huntingलमजुङ, २१ मङ्सिर । पाँच वर्षसम्म निरन्तर आयोजना गरिएको ‘हनी हन्टिङ’ मह सिकार महोत्सव यस वर्ष भने हुन सकेको छैन ।

लगातारको तराई बन्दका कारण इन्धन अभाव भएपछि लमजुङका गाउँ गाउँमा हुने मह सिकार महोत्सव हुन नसकेको हो ।

गत वर्षहरुमा कात्तिक महिनामा हुने मह सिकार महोत्सव मङ्सिर सकिन लाग्दासमेत हुन सकेको छैन । कहाली लाग्दो भिर पहरामा हुने मह सिकार विश्वमै विरलै हुने गर्दछ ।

साहसी मह सिकारीहरुले गर्ने ठुलो जोखिम लिएर गर्ने मह सिकार पर्यटकका लागि नौलो र आकर्षणको विषय भए पनि महोत्सव नै रोकिँदा अहिले यहाँ आउने पर्यटक निरास भएका छन् ।

आङ नै सिरिङ हुने अग्ला भिर पहरामा निडरका साथ मह सिकारीहरुले मह काढेको जोखिमपूर्ण दृश्य स्वदेशी तथा विदेशी सबैका लागि साँच्चै अविस्मरणीय र रोचकको विषय हुन गरेको थियो ।
लमजुङको घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, दूधपोखरीलगायतका भिर पहरामा भिर माहुरी प्रशस्तै पाइने गर्छ । मह सिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटक आकर्षकका लागि आजकाल ‘हनी हन्टिङ फेस्टिबल’ का रुपमा मह सिकार गरिँदै आइएको थियो ।

भिर पहरामा पाइने मौरीको संरक्षणका साथै उचित तरिकाबाट मह सिकार गरिए स्थानयीवासी गाउँलेको आम्दानीका साथै मह सिकारले स्वदेशी तथा विदेशी पर्यटकको मन पनि लोभ्याउने भएकाले पर्यटक भित्र्याउन पनि महोत्सव अनिवार्य भएको स्थानीयवासीले बताएका छन् ।

अन्य मौरीको महभन्दा भिरमौरीको मह स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण मानिन्छ तर यसको सेवनमा भने ध्यान दिनु जरुरी हुन्छ ।
वनपाखाका विभिन्न फूलको रस समायोजन हुने भएकाले एकै पटकमा धेरै खाँदा पखाला लाग्ने टाउको दुख्नेजस्ता समस्या आउन सक्ने हुन्छ ।

यस वर्ष पनि कात्तिकमा महोत्सव आयोजना गर्ने तयारी गरे पनि इन्धन अभावमा ग्रामीण सडकमा सवारी चल्न नसकेपछि बाध्य भएर स्थगित गर्नुपरेको मौरीपालक सङ्घ लमजुङले जनाएको छ ।

जिल्लाका ग्रामीण बस्तीका भिरहरुमा आयोजना गरिने भिर मह सिकार कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गरेको भए पनि यस वर्ष आयोजना गर्न नसक्नु दुखद भएको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
प्रति लिटर रु एक हजारसम्म पर्ने यो भिर मौरीको मह दम, नशा, ढाडसम्बन्धी रोगको औषधिका रुपमा प्रयोग गरिन्छ । परापूर्वकालदेखि जङ्गलको आसपासमा बस्दै आएका गुरुङ समुदायका मानिसको आम्दानीको स्रोत बन्ने गरेको मह सिकार आजकाल पर्यटक लोभ्याउने आकर्षण बन्ने गरेको छ ।

प्रतिक्रिया