अख्तियार दुरुपयोग आयोगले रिस साँध्यो: पूर्व अर्थमन्त्री पाण्डे

इनेप्लिज २०७२ मंसिर २० गते १४:३७ मा प्रकाशित

surendra-pandeyचितवन, २० मङ्सिर । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि रिस साँधेको बताउनुभएको छ ।

भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले गत वर्ष अर्थ समितिमा आयोगका प्रमुख आयुक्तलाई बोलाएकै कारण आफूमाथि रिस साँधेर अनुसन्धानको सूचीमा राखिएको बताउनुभयो ।

विस्तृत आफूलाई थाहा नभइसकेको भन्दै उहाँले भन्नुभयो, “तपाईंहरु सबैलाई थाहै छ, गत वर्ष अर्थ समितिले बोलाउँदा आउने÷नआउनेदेखि, चर्काचर्की र बीचैमा उठेर हिँड्ने काम भएको थियो, त्यसैको रिस साँधिएको होला ।”

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका पाण्डेले भन्नुभयो– “आफ्नो जिम्मेवारीलाई यसरी गलत ढङ्गबाट प्रयोग गर्नु हुँदैन ।”

उहाँले आफूले एक सुका तलमाथि कतै नगरेको जिकिर पनि गर्नुभयो । उहाँले सांसद कोषको रकममा समेत कुनै अनियमितता नहोस् भनेर आफूले सजग गराएको स्मरण गराउनुभयो । अख्तियारले आफ्नो दायराभन्दा बाहिर गएर काम गरेको उहाँले बताउनुभयोे ।

उद्योगी, व्यवसायीलाई समेत बिनाकारण अनुसन्धानको दायरामा राखेको भन्दै उहाँले कसैले पनि काम गर्न नपाउने ? भन्दै प्रश्न गर्नुभयो ।

पत्रकारको एक प्रश्नमा उहाँले कोही पनि चित्त बुझाएर नबस्न आग्रह गर्दै भन्नुभयो आफूले कुनै गल्ती नगरेको र पार्टीको जिम्मेवार पदमा रहेकाले यस विषयमा पार्टीले नै फेस गर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया