विज्ञान तथा प्रविधिको प्रयोगबिना देश विकास असम्भव: प्रम ओली

इनेप्लिज २०७२ मंसिर २० गते १४:२२ मा प्रकाशित

kp-oli-final-final9काठमाडौँ, २० मङ्सिर । प्रधानमन्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कुलपति केपी शर्मा ओलीले विज्ञान प्रविधिको प्रयोगबिना देशको विकास असम्भव रहेको बताउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ३३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले अहिलेको आधुनिक युगमा विज्ञान र प्रविधिको प्रयोग गर्नसके देश विकास गर्न धेरै समय लाग्दैन भन्नुभयो ।

वैज्ञानिक र प्राविधिक शिक्षामा ध्यान नदिएकै कारण प्रगति हासिल गर्न नसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थप्नुभयो– “आज संसार जहाँ पुगेको छ, त्यहाँ विज्ञान र प्रविधिको योगदान छ । हामी नेपाललाई आधुनिक, विकसित तथा सभ्य र सभ्रान्त देश बनाउन चाहन्छौँ । प्राकृतिक स्रोतको समुचित उपयोग गरी पूर्वाधार विकास, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन कार्यमा वैज्ञानिक खोज आवश्यक छ ।”

उहाँले मुलुकमा संविधान जारी भएसँगै जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार पूरा भएको भन्दै अब देशलाई आर्थिक उन्नतिको दिशामा अघि बढाउन पारस्परिक एकता र सामाजिक सद्भाव कायम गरी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको क्षेत्रको लगानी बहुआयामिक हुने र यसको प्रतिफल गुणस्तरीय हुने भन्दै वैज्ञानिक खोज, अनुसन्धान र विकासका लागि सरकारले लगानी अभिवृद्धि गर्ने बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति प्राडा जीवराज पोखरेलले विज्ञान प्रविधिको विकासका लागि नास्टले चाँडै रणनीतिक योजना ल्याउने बताउनुभयो ।

यसैबीच नास्टले वार्षिकोत्सवका अवसरमा विज्ञान प्रविधिका क्षेत्रमा उत्कृष्ट योगदान दिने विभिन्न व्यक्ति÷संस्थालाई पुरस्कार प्रदान गरेको छ ।

रु दुई लाख राशिको विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार प्राडा छविलाल गजुरेल, रु एक लाख राशिको विज्ञान पुरस्कार डा राजेन्द्र ज्ञवाली, रु एक लाख राशिको प्रविधि पुरस्कार डा बालकृष्ण जोशी तथा रु ७५ हजार राशिको विज्ञान तथा प्रविधि युवा पुरस्कार क्रमशः डा मेघनाथ धिमाल, डा शङ्करराज बर्सिला, निशा झा, डा विमला सुब्बा र डा दीपकराज भाटलाई प्रदान गरिएको छ ।

त्यसैगरी, रु ५० हजार राशिको प्रज्ञा–प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार क्रमशः प्रा डा शम्भुप्रसाद पटेल, डा राजीव सुब्बा, एक हजार अमेरिकी डलर राशिको विश्व विज्ञान प्रज्ञा–प्रतिष्ठान पुरस्कार क्रमशः डा यादव उप्रेती र डा विष्णुप्रसाद पाण्डेलाई, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार केनेथ शाही, प्रमिला पौड्याललाई, मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा–पुरस्कार युवक केसीलाई, भुवनेश्वर प्रविधि पुरस्कार ब्याम्बो एण्ड अर्थ इनिसिएटिभलाई र जीतबहादुर नकर्मी धातु पुरस्कार राजकुमार शाक्यलाई प्रदान गरिएको छ ।

यसै वर्ष स्थापित जनही रु एक लाख २५ हजार राशिको नविल विज्ञान तथा प्रविधि पुरस्कार प्रा डा शिवप्रसाद धौभडेल, डा दीपकराज सिंह, प्राडा सङ्गीता राजभण्डारी र डा दुर्गाप्रसाद सापकोटालाई प्रदान गरिएको छ ।

नास्टमा २५ वर्ष सेवा गरेका दुई जना कर्मचारीलाई दीर्घ सेवा तथा विज्ञान र प्रविधिको क्षेत्रमा योगदान गरेका पाँच जना ज्येष्ठ वैज्ञानिकलाई नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो । ती सबै पुरस्कार र कदरपत्र प्रधानमन्त्री ओलीले वितरण गर्नुभएको थियो । कार्यक्रममा कृषि विकास मन्त्री हरिबोल गजुरेल पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया