आवश्यक औषधि फास्ट ट्र्याकबाट ल्याउने तयारीः मन्त्री चौधरी

इनेप्लिज २०७२ मंसिर २० गते १४:०६ मा प्रकाशित

Ramjanam-Chaudhariचितवन, २० मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरीले स्वास्थ्य क्षेत्रमा आवश्यक औषधि फास्ट ट्र्याकबाट ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

रत्ननगरमा रहेको रत्ननगर अस्पतालको डाइग्नोसिस सेवाको आज उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । अहिले देशमा आवश्यक पर्ने औषधि ४० दिनसम्म पुग्ने मात्रामा रहेका कारण स्वास्थ्य क्षेत्रमा समस्या नदेखिओस् भनेर सरकारले औषधि आयातका लागि फास्ट ट्र्याक बाटो अपनाउन लागेको उहॉको भनाइ थियो ।

सरकार अहिलेको समस्या हल गर्नका लागि तत्पर रहेको भन्दै उहॉले अहिलेको समस्या राजनीतिक तवरबाट समाधान गरिनुपर्नेसमेत बताउनुभयो । अहिले राजनीतिक दलहरुले वार्ताको माध्यमबाट समस्या समाधानका लागि पहल गरिरहेको भन्दै मन्त्री चौधरीले देशले चाँडै निकास पाउनेसमेत विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले डाइग्नोेसिस सेवाको उद्घाटन गरेसँगै रत्ननगर अस्पतालमा आजदेखि औपचारिक रुपमा पाँच श्ययाबाट सेवा सुरु गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै उहॉले यस अस्पतालको स्तरोन्नतिका लागि आफ्नो तहबाट सहयोग गर्नेसमेत बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष जेनी अहमद सेखको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सांसद शेषनाथ अधिकारी, अस्पताल विकास समितिका सदस्य दीपेन्द्र श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया