डेढ हजार रोपनीमा लगाइएको गाँजा खेती नष्ट

इनेप्लिज २०७२ मंसिर २० गते ४:५१ मा प्रकाशित

gaajaगाईघाट (उदयपुर), २० मङ्सिर । उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रका विभिन्न स्थानमा लगाएको अवैध गाँजाखेती फँडानी गर्ने क्रममा प्रहरी टोलीले पहिलो चरणको गाँजा फँडानी अभियान सम्पन्न गरेको छ ।

मङ्सिर ४ देखि १८ गतेसम्म गरी १५ दिनको पहिलो चरणको गाँजा फँडानी अभियानमा प्रहरीले करिब एक हजार ४६१ रोपनी क्षेत्रमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ ।

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले, लिम्पाटार, सिरिसे, इनामे तथा ठानागाउँ क्षेत्रमा प्रहरीले १५ दिने अभियानमा करिब एक हजार ४६१ रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक दीपक बस्नेतले बताउनुभयो ।
गत वर्ष पनि प्रहरीले सम्बन्धित स्थानमा दुई चरणको अभियानमा झन्डै तीन हजार रोपनी क्षेत्रफलमा लगाएको अवैध गाँजखेती नष्ट गरेको थियो ।

पहिलो चरणको गाँजा फँडानीको अभियानमा नेपाल प्रहरीका २५ जना र सशस्त्र प्रहरीका ३० जनासहित ५५ जना प्रहरी टोली परिचालन गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया