इन्धन आयातमा केही सहज

इनेप्लिज २०७२ मंसिर २० गते ४:२९ मा प्रकाशित

धनगढी, २० मङ्सिर । सुदूरपश्चिम क्षेत्रका लागि इन्धन लिन गएका सबै गाडीहरुमा केही दिनदेखि भारतीय आयल निगमको बन्थरा डिपोले इन्धन भरी पठाउन थालेको छ ।

अघोषित नाकाबन्दीका कारण एक हप्ताअघिसम्म दैनिक बढीमा चार/पाँच गाडीमा मात्रै इन्धन भरी पठाउने बन्थरा डिपोले चार दिनदेखि इन्धन लिन गएका सबै गाडीमा इन्धन भरिदिने गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।

बुधबार पेट्रोल र डिजेलका १६ गाडी इन्धन उपलब्ध गराएका उनीहरुले बिहीबार १४ गाडीमा इन्धन भरी पठाएका थिए । यस्तै शुक्रबार चार गाडी भित्रिएकामा शनिबार थप २० गाडीमा इन्धन भरी पठाएको कार्यालयका सूचना अधिकृत शिवराज भण्डारीले बताउनुभयो ।

अघोषित नाकाबन्दीयता पहिलो पटक जति गाडी पठाए पनि सबैमा लोड गरी दिन थालेको भण्डारीले बताउनुभयो ।

इन्धन आयातको परिमाण बढेको भए पनि सुदूरपश्चिममा अझै पनि यसको अभाव भने यथावत रहेको छ ।

भित्रिने न्यून परिमाणको इन्धन बिक्री वितरण मङ्सिर पहिलो हप्तादेखि जिल्ला आपूर्ति समितिको निर्णय बमोजिम सुदूरपश्चिममा गर्ने गरिएको छ ।

उता कैलाली भन्सार कार्यालयले पनि केही दिनदेखि मालबाहक गाडी सहज रुपमा भित्रिइरहेको जनाएको छ । सुरुको अवस्थाको तुलनामा कैलाली भन्सार कार्यालय सीमा नाकाबाट मालबाहक गाडी बिनाअवरोध भित्रिइरहेको कार्यालयका अधिकृत मानप्रशाद विकले बताउनुभयो ।

“सुरुको अवस्थामा दैनिक ५/६ गाडीमात्रै भित्रिने गरेका थिए विकले भन्नुभयो – केही दिनदेखि दैनिक ५०/६० मालबाहक गाडी भित्रिइरहेका छन् ।”

प्रतिक्रिया