जीर्ण अवस्थाका विद्युत् पोलका कारण दुर्घटनाको खतरा बढ्यो

इनेप्लिज २०७२ मंसिर १८ गते २:३१ मा प्रकाशित

electricity-pole-300x225बाबियाचौर (म्याग्दी), १८ मङ्सिर । म्याग्दीको ग्रामीण क्षेत्रमा जीर्ण अवस्थामा रहेका विद्युत् पोलका कारण दुर्घटनाको जोखिम बढेको छ ।

केन्द्रीय प्रसारण लाइनको विद्युत् वितरणका लागि गाडिएका काठका पोल जीर्ण बन्दै गएका छन् । जीर्ण अवस्थाका पोल परिवर्तन गर्न ढिलाइ हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ ।

बेनी नगरपालिकाको खबरा, रत्नेचौर, पुलाचौर, सिंगाका साथै भकुण्डे, भकिम्ली, बाबियाचौर, दरवाङ, पात्लेखेत, कुहुँलगायतका गाविसमा विद्युत् वितरण गर्न गाडिएका काठका पोल जीर्ण भई ढल्ने अवस्थामा पुगेका छन् ।

जीर्ण पोल ढलेर करेन्ट लाग्ने, हावाहुरीले भाँचिने, विद्युत् आपूर्ति बन्द हुने समस्या देखिएको बेनी नगरपालिका– ३ खबराका कमल सुवेदीले बताउनुभयो । उहाँका अनुसार जीर्ण पोल वरपरको बाटो भएर सर्वसाधारणलाई हिँडडुल गर्न र खेतबारीको काम गर्न, घाँस दाउरा गर्न पनि समस्या भएको छ ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका अनुसार जिल्लामा ३०० भन्दा बढी पोल जीर्ण अवस्थाका छन् । जीर्ण अवस्थाका काठे पोल परिवर्तन गर्ने तयारी गरिएको केन्द्रका प्रमुख सीताराम शाहले बताउनुभयो । करिब ६०० फलामको पोल खरिद गर्ने ठेक्का सम्झौता भइसके पनि ठेकेदारको ढिलासुस्ती र नाकाबन्दीका कारण ल्याउन सकिएको छैन ।

जिल्लामा जगेडा रहेका पोल पनि सकिसकेका छन् । नयाँ खरिद गरिएका मध्ये ३०० पुराना काठका पोल परिवर्तन गर्न प्रयोग गरिने शाहले बताउनुभयो ।

प्रतिक्रिया