शनिबार, साउन ९ २०७८
काठमाडौं २२:१९
वासिङटन डिसी 12:34

एसएसबीलाई सुटुक्क छोड्ने को को ?

इनेप्लिज २०७२ मंसिर १६ गते २:४५ मा प्रकाशित

12316409_1009216815801879_4295124275783666572_nझापा, १६ मङ्सिर । आइतबार एकाबिहानै केचना हुँदै हतियारसहित नेपाल प्रवेश गरेका १३ जना एसएसबीलाई सुटुक्क रिहा किन गरियो ? चर्चाको विषय छ । तस्करहरुलाई लखेट्दा भुलवस नेपाल पसेको भन्ने कुरा त बहाना मात्र थियो । हतियार बोकेर जानाजान केचना ४ का लाल मोहम्मदको घरमा प्रवेश गरी ‘तस्कर’ भन्दै उनीहरुले लछार पछार पारे ।

सूचना पाउनासाथ घटनास्थल पुगेको वनियानीस्थित सशस्त्र सीमा सुरक्षा बलले गाउँलेको चर्को दवावपछि उनीहरुलाई नियन्त्रणमा त लियो, तर केही घण्टा मै सुटुक्क छोड्नुपरेपछि पक्राउ गर्ने प्रहरीको मन कटक्क कुँडियो । ‘हाम्रै भुमीमा आएर बन्दुक ताक्नेहरुलाई डीएसपी साब भारतसम्म पुर्याउन जानुभयो,’ शसस्त्रका एक जवान भन्छन्, ‘के सहमती भएर उनीहरुलाई छासडयो भन्ने हामीलाई नै जानकारी छैन ।’

शसस्त्रका डीएसपी प्रेम प्रसाई र झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौला उनीहरुलाई हतार हतार बिदा गर्न तम्सिँदै थिए । एकातिर भारतीय सुरक्षाकर्मीको अगाडि झापाको प्रहरी प्रशासन निरही बनेको टिप्पणी पनि हुन थालेको छ । तर, एसएसबीलाई छोड्ने आदेश सोझै गृहमन्त्रालयको थियो । झापा प्रशासन गृहमन्त्रालयको आदेशको पखाईमा थियो ।

शसस्त्रले एसएसबीलाई नियन्त्रणमा लिएको खबर पुगेपछि गृहमन्त्रालयमा समेत व्यापक छलफल सुरु भइसकेको थियो । अन्ततः गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आदेश दिए, ‘उनीहरु भुलवश नेपाली भूमिमा पसेका रहेछन् । अरु कुनै नियत छैन । उनीहरुलाई भारतीय कमाण्डरको जिम्मा लगाइदिनु ।’

न उनीहरुलाई कुनै कारवाही गरियो, न त माफी मगाइयो । उनीहरु ससम्मान रिहा भए । यता एसएसबी नियन्त्रणको समाचार सङ्कलन गर्न गएका पत्रकारलाई सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै छेउछाउ जानै दिएनन् ।

झापा प्रसाशनले एसएसबीलाई लगभग दश घण्टा नियन्त्रणमा लिएर विना सर्त भारतीय अधिकारीलाई बुझायो । उनीहरु तस्करलाई खोज्दै आएका हुन् वा नियतबस आएका हुन् भन्ने बिषयमा केही नखुली नेपाल प्रहरीको गाडीले सुटुक्क सिमानासम्म पुर्याइदियो । उनीहरुलाई रिहा गर्नुअघि नेपालका तर्फबाट झापाका साहयक प्रमुख जिल्ला अधिकारी निरौला, झापाका प्रहरी प्रवक्ता डिएसपी भिमबहादुर दाहाल, सशस्त्र प्रहरीका डीएसपी प्रसाईं र भारतको तर्फबाट वारवी बटालियन किसनगञ्जका सेकेण्ड म्यान डिभी नेगीले दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरे ।

छेउछाउमा सादा पोशाकमा भारतीय प्रहरीको संख्या ठूलै थियो । तर, यस विषयमा कोही चुइक्क बोलेनन् । प्रशासनको लामो छलफलपछि उनीहरुलाई रिहा गरिएपनि के छलफल भयो भन्ने कुरा खुल्न सकेको छैन । उनीहरुसँग ६ थान आधुनिक हतियार थिए । घटना भएको दिन झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल भने जिल्ला बाहिर थिए ।

घटनाको स्थलगत विवरण लिन सहायक प्रजिअ निरौला, जिल्ला प्रहरी कार्यालयका डिएसपी दाहाल लगायत प्रहरीको टोली केचना पुगेको थियो । जिल्ला प्रशासनका प्रवक्तसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी निरौला नेपालका सञ्चारकर्मीसँग बोल्न चाहेनन् । ‘सिडिओ सा’ब लाई सोध्नु’ भन्दै पन्छिएका उनले एसएसबीलाई पुर्याउन जाँदा भारतीय सञ्चारकर्मीसँग भने टुटेफुटेको हिन्दीमा लामै मै ब्रिफिङ दिए । स्थानीयले ‘भारतीय प्रहरी एसएसवी मुर्दाबाद, सीमा मिच्न पाइँदैन, एसएसवीलाई कारवाही गर’ जस्ता भारत विरोधी नारावाजी गरिरहे ।

प्रतिक्रिया