आइतबार, साउन १७ २०७८
काठमाडौं ०६:१४
वासिङटन डिसी 20:29

स्व सभासद्को स्मृतिमा क्रिकेट प्रतियोगिता हुने

इनेप्लिज २०७२ मंसिर १४ गते ४:२८ मा प्रकाशित

cricket123431बागलुङ, १४ मङ्सिर । स्वर्गीय सभासद् हरिबहादुर खड्काको स्मृतिमा यहाँ टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल विद्यार्थी सङ्घ बागलुङले यही मङ्सिर २१ गतेदेखि प्रतियोगिता गर्न लागेको हो ।

प्रथम हरि खड्का स्मृति कप टि–२० क्रिकेट प्रतियोगितामा विभिन्न जिल्लाका १५ भन्दा बढी टोली सहभागी हुने जनाइएको छ ।

खुल्ला राष्ट्रिय प्रतियोगिता भएकाले सहभागिता बढ्ने सङ्घका जिल्ला अध्यक्ष खड्क थापाले बताउनुभयो । टेनिस (नरम बल) मा हुन लागेको उक्त प्रतियोगिता पश्चिमाञ्चलकै ठूलो पुरस्कार राशिको भएको आयोजकको दाबी छ ।

प्रतियोगितामा विजेता बन्ने टोलीले नगद रु ५५ हजार ५५५ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । उपविजेता हुने टोलीले नगर रु ३३ हजार ३३३ सहित ट्रफी र मेडल पाउने प्रतियोगिताका संयोजक सुजन सापकोटाले बताउनुभयो ।

बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताका उत्कृष्ट बलर, ब्याट्सम्यान, स्कोरर, म्यान अफ द म्याच र म्यान अफ द सिरिजतर्फ पनि पुरस्कृत गरिने संयोजक सापकोटाले जानकारी दिनुभयो । हालसम्म पश्चिमाञ्चलका तनहुँ, कास्की, स्याङ्जालगायतका जिल्लाबाट सहभागीले नाम दर्ता गराइसकेको जनाइएको छ । पश्चिम बर्दियाको टोली पनि प्रतियोगितामा सहभागी हुने भएको छ ।

यस क्षेत्रकै ठूलो पुरस्कार राशिको प्रतियोगिता हुने भएपछि क्रिकट खेलाडी तथा खेलप्रेमी उत्साहित बनेका छन् । कडा बलमा यसअघि ठूलो राशिको प्रतियोगिता भए पनि टेनिस बलमा यो नै पश्चिमाञ्चलको ठूलो राशिको क्रिकेट प्रतियोगिता भएको अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।

संविधानसभामा बागलुङ क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित खड्काको निधनको वर्षदिन पनि यसै महिना पुग्दैछ । गत वर्ष मङ्सिर १७ मा दुर्घटनामा पर्नुभएका खड्काको उपचारका क्रममा मङ्सिर २१ गते निधन भएको थियो ।

प्रतिक्रिया