पथरी (मोरङ), १३ मङ्सिर । मोरङवासीले जनस्तरबाट भूकम्प पीडितका लागि जुटाएको राहत सामग्री जिल्ला प्रशासन कार्यालय मोरङको समीक्षालयमा कुहिएर बसेको छ ।
त्रिपालले छोपेर राखिएको खाद्यान्नमध्ये गहुँको पिठोमा चिलेसा र घुन लागेको छ । अव्यवस्थित तरिकाले राखिएको सो खाद्य सामग्री डल्लै डल्ला परेको छ । नजिकै रहेको चाउचाउका कार्टुन खुल्लै रहेका छन् । खाद्यान्न सड्न लाग्दा समेत त्यसलाई भूकम्प पीडितसम्म पु¥याउन खासै चासो दिइएको छैन ।
खाने तेलका प्याकेट पनि भुइँमै देखिन्छ । भूजाका बोरा त्यसै लडाइएको देखिन्छ । कतिपय प्याकेट च्यातिएका छन् । खाद्यान्न र अन्य सामग्री पनि सही हालतमा देखिँदैनन् ।
जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सहयोग जानुपर्ने केन्द्रीय नीतिअनुसार खाद्यान्नसहितका सामग्री जिल्ला प्रशासनमा जम्मा भएको थियो । तर, सात महिना बितिसक्दा पनि कतिपय सहयोग सामग्री र खाद्यान्न प्रशासनको समीक्षालयमै थन्किरहेको छ ।
गत वैशाख महिनामा आएको भूकम्पपछि जनस्तरबाट ठूलो परिमाणमा राहत सामग्री सङ्कलन भएको थियो ।
प्रतिक्रिया