शुक्रबार, साउन ८ २०७८
काठमाडौं २२:१९
वासिङटन डिसी 12:34

सङ्कटको साथी ‘साझा यातायात’

इनेप्लिज २०७२ मंसिर १० गते १३:४६ मा प्रकाशित

sajha_busकाठमाडौँ, १० मङ्सिर । भारतको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा सहज रुपमा यातायातको साधन सञ्चालन हुन नसके पनि साझा यातायात सर्वसाधारणको सङ्कटको साथी बनेको छ ।

दुई महिनादेखि भारतले गरेको नाकाबन्दीका कारण आमसर्वसाधारण ठूलो समस्या बेहोर्नु बाध्य छन् । नागरिकले यसरी समस्या भोगिरहँदा साझा यातायात अहिले नागरिकको साथी बनेको यात्रु स्वयम् बताउँछन् ।

लामो समय बन्द रहेर पछिल्लो समय २०७० साल देखि पुनः सञ्चालन भएको साझा यातायातबाट नागरिकलाई ठूलो सहयोग हुँदै आएको छ । नाकाबन्दीका कारण नागरिकले समस्या भोग्नुपरेकाले यात्रुको सहजताका लागि नै अहिले साझाले आफ्नो सेवा विस्तार गरेको साझा यातायातका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिनुभयो । सेवा विस्तारपछि लगनखेलदेखि बूढानीलकण्ठसम्म बस सञ्चालनमा छ ।

सेवा विस्तारमात्रै नभई यात्रुलाई थप सेवा होस् भन्ने उद्देश्यले अब छिट्टै २५ वटा बस थप्ने तयारी रहेको पाण्डेले बताउनुभयो । अहिले उपत्यकामा १६ वटा साझा बस सञ्चालनमा छन् । सञ्चालनमा रहेका अन्य यातायातका साधनले जथाभावी भाडा असुल गरिरहँदा साझा बसले भाडा दर विद्यार्थीका लागि रु १० र अन्य नागरिकका लागि रु १५ निर्धारण गरेको छ ।

यातायातका साधन सहज रुपमा नपाउने र बढी भाडा लिने भएकाले यात्रुहरु पाएसम्म साझा यातायात नै चढ्ने गरेका छन् । बसमा यात्रा गरिरहनुभएका हरि शर्मा थोरै यात्रुले मात्र सेवा लिन पाएकाले यात्रुको चापलाई ध्यानमा राख्दै सक्दो छिटो बस थप्नुपर्ने बताउनुहुन्छ ।

यस्तै पुरानो बसपार्कबाट कलङ्कीका लागि बस चढ्नुभएकी सीता उप्रेती अहिले साझा बस विकल्पका रुपमा रहेकामा खुसी हुँदै सङ्ख्या थप गरी सेवा विस्तार गर्नेतर्फ व्यवस्थापनले सोच्न आवश्यक रहेको बताउनुहुन्छ । यसरी यात्रुले साझा बसलाई बढी मन पराइरहँदा टिकट बिक्रीबाट बसले पनि तुलनात्मक रुपमा केही बढी आम्दानी गर्दै आएको छ ।

नाकाबन्दीअघि १६ वटा बसमा दैनिक १० हजार नागरिक चढ्दै आएका थिए भने अहिले झन्डै १५ हजार यात्रुले यस बसबाट सेवा लिने गरेका छन् । टिकट बिक्रीबाट दैनिक रु एक लाख ८० हजारसम्म आम्दानी गर्दै आएको कार्यकारी निर्देशक पाण्डेले बताउनुभयो । “दुई महिनाअघि टिकट बिक्रीबाट दैनिक रु एक लाख ५० हजारमात्र अम्दानी हुने गरेको थियो” उहाँले भन्नुभयो ।

सञ्चालनमा रहेका सबै बसको एक पटकमा यात्रु बोक्न सक्ने सिट क्षमता ५४ रहेको छ । तर इन्धन अभावले गर्दा यातायात साधन कम चलेकाले यात्रुले उभिएरै पनि यात्रा गरिरहेका छन् ।

यात्रुको समस्या काठमाडौँ उपत्यकामा मात्रै नभई बाहिर पनि रहेकाले सम्भव भएसम्म उपत्यका बाहिर पनि साझा बस सेवा सञ्चालन गर्न यात्रुले आग्रह गरेका छन् ।

प्रतिक्रिया