‘पाँचौँ अन्तर्राष्ट्रिय लोक फिल्म महोत्सव’ आजदेखि सुरू

इनेप्लिज २०७२ मंसिर १० गते १२:०९ मा प्रकाशित

काठमाडौँ, १० मङ्सिर । अमूल्य अमूर्त अनुसन्धान लोकगीत, लोकसङ्गीत, लोकबाजा लोकनाच, लोकसंस्कृति, लोकपरम्परा र लोकजीवनका विविध पक्षको अध्ययन अनुसन्धान र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको ‘पाँचौँ अन्तर्राष्ट्रिय लोक फिल्म महोत्सव’ आजदेखि यहाँ सुरू भएको छ ।

‘जीवनको लागि सङ्गीत र बाँच्नका लागि सङ्गीत’ भन्ने मूल नारासहित सुरू भएको महोत्सव नेपाली लोकबाजा सङ्ग्रहालयको आयोजना तथा सांस्कृतिक संस्थानको सहआयोजनामा यही मङ्सिर १३ गतेसम्म राष्ट्रिय नाचघर जमलमा सञ्चालन हुनेछ ।

महोत्सवमा विश्वका विभिन्न राष्ट्रका मौलिक लोक संस्कृतिको अनुसन्धान र संरक्षणको लागि भइरहेको कार्यका बारेमा अनुभव आदानप्रदानसमेत गरिने नेपाली लोकबाजा सङ्ग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिनुभयो । महोत्सवमा नेपालसहित विभिन्न देशका विज्ञले लोकसङ्गीतसम्बन्धी कार्यपत्रसमेत प्रस्तुत गर्नुहुने छ ।

महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले राज्यको मात्रै भर पर्नुभन्दा पनि समुदाय आफैँले आफ्नो संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

दैनिक १० बजेदेखि ५ बजेसम्म चल्ने तीन दिने सो प्रदर्शन गरिने महोत्सवमा विभिन्न देशका लोक सङ्गीत संस्कृति, जीवनशैलीसम्बन्धी १३५ वटा वृत्तचित्रले भाग लिएकोमा आमन्त्रित, अप्रतियोगी र प्रतियोगी गरी १८ वटा देशका छनोटमा परेका ३५ वृत्तचित्रको प्रदर्शन गरिने छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय निर्णायक समितिले छनोट गरेका उत्कृष्ट फिलमध्ये सर्वोत्कृष्ट तथा उत्कृष्ट घोषित छ फिल्मलाई अवार्ड प्रदान गरिने छ । विगतका वर्षमा जस्तै यस पटक पनि विगत आठ दशकदेखि अविच्छिन्नरूपमा स्थानीय नेवारी लोकसङ्गीत संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धनमा लागिरहनुभएका ८८ वर्षका भीमबहादुर नकर्मीलाई लाइफ लाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

 

प्रतिक्रिया