सोमबार, साउन १८ २०७८
काठमाडौं ०१:१४
वासिङटन डिसी 15:29

सडकमा मानसिक रोगीको यो हाल

इनेप्लिज २०७२ मंसिर ९ गते २:०५ मा प्रकाशित

मेची अञ्चलकै व्यापारिक केन्द्र बिर्तामोड । पछिल्लो समय बसाई सर्नेहरुको पनि प्रमुख रोजाईमा पर्न थालेको छ । व्यापारको शिलशिलामा मात्र होइन, हरेक कामका लागि मेची अञ्चलबासीलाई बिर्तामोड सुगम थलो बनेको छ । झापाकै ग्रामीण क्षेत्रका बासिन्दा हुन् या उत्तरको हिमाली जिल्ला ताप्लेजुङका शेर्पाहरु, सबैको पायक पर्ने स्थान बिर्तामोड नै बनेको छ । तर, बिर्तामोडका मुख्य मुख्य स्थानमा देखिने केही दृष्यले यहाँको गरिमामाथि गतिलो चुनौती दिएको देखिन्छ ।

लक्ष्मी काफ्ले
बिर्तामोड, ९ मङ्सिर । दृष्य एक– मङ्सिरको जाडोमा आङमा एकसरो लुगा (हाफ पेन्ट र हाफ टि–सर्ट) मात्र छ । शनिश्चरे रोडको एउटा DSC02363सटरको अगाडि चिसो सिमेन्टमा सुत्छन् उनी । तीन वर्षदेखि उनी बिर्तामोडमै छन् । कसैलाई उनको नाम थाहा छैन । बिहान उनको अनुहार सुन्निएर हेरिसक्नु हुँदैन । पहिलोचोटी देख्ने मान्छे त आत्तिन्छ नै । एकोहोरो बर्बराउँदै उनी बिहान ६ बजेतिर सरगम सङ्गीतालय अगाडि भक्का बेच्ने ठाउँमा बसेका हुन्छन् । भक्का खान आउनेहरु उनलाई हेरिरहन्छन् बस् । केहि छिनपछि भक्कावाल्नीले उनलाई दुईवटा भक्का दिन्छिन् । र, उनी त्यहाँबाट बाटो लाग्छन् ।

९ बजेपछि उनको स्थान फेरिन्छ । भद्रपुर रोडमा दुर्गा होटलको अगाडि उनी खाना पर्खिएर बस्छन् । होटलले खाना नदिएसम्म उनी बर्बराइरहन्छन् । खाना पाइसकेपछि त्यहाँबाट पनि बाटो लाग्छन् ।

दृष्य दुई– उनका धेरैवटा नामहरु छन् । कसैले माइलो भन्छन्, कसैले हामजाएगा । धेरै वर्षदेखि उनी बिर्तामोडमै छन् । भद्रपुर रोडस्थित DSC02365सनराईज बैङ्क रहेको भवन अगाडि उनी चिसो सिमेन्टमा सुत्छन् । लामो तर गुन्द्रुकझैँ लट्टा परेको कपाल भएका उनी एक्लै भने सुत्दैनन् । उनीसँग सुत्ने एक महिला छिन् । अचम्मको कुरो त के छ भने उनीसँग प्रत्येक ६ महिनामा नयाँ महिला हुन्छिन् । त्यो पनि उनीजस्तै अर्थात मानसिक सन्तुलन ठीक नभएकी ।
राति प्लास्टिक ओढेर यीनले बिर्तामोडमा धेरैवटा जाडो कटाइसके । कहिले बिहानै एकोहोरो हाँस्दै हुन्छन्, कहिले दिनभरी रुँदै । दुर्गा मन्दिर छेउमै रुमाल ओच्छ्याएर मागेको पैसाले उनी केही किनेर खान्छन् । आफूसँग भएकी महिलालाई पनि खुवाउँछन् । यीनले बोल्ने भाषा भने कसैले बुझ्दैनन् । सँगै हुने महिलासँग उनले गरेको क्रियाकलाप देखेर सर्वसाधारण लज्जित हुन्छन् । तर उनी हुन् मानसिक रोगी ।

दृष्य तीन– मोटो शरीर । झट्ट हेर्दा मानसिक रोगीझैँ नदेखिने । लगभग ५०÷५५ वर्षका उनको पनि नाम कसैलाई थाहा छैन । बिर्तामोडका मुख्य सडकदेखि गल्ली–गल्लीसम्म उनी घुमिरहन्छन् । उनको एउटा स्वभाव छ, मागेर खाँदैनन् । फुटपाथमा चाउमिन बेच्नेहरुले प्लास्टिकमा फालेको खानेकुरा उनी फोहोरको डङ्गुरबाट खोतल्दै निकाल्छन् । र, मिठो मानेर खान्छन् । लाग्छ उनी फोहेरको थुप्रो हेरेरै सडिएका खानेकुरा भएको÷नभएको थाहा पाउँछन् । केही वर्षदेखि उनी यस्तै खानेकुराको भरमा प्राण धानिरहेका छन् ।

यी तीनवटा त प्रतिनिधि दृष्य मात्र हुन् । मानसिक सन्तुलन गुमाएर हाल बिर्तामोडका गल्लीहरुमा भौँतारिनेहरुको सङ्ख्या दर्जनभन्दा बढी छ । पछिल्ला केही वर्षमा भारतीय नागरिकहरुले बिर्तामोडमा मानसिक सन्तुलन गुमाएकाहरुलाई ल्याएर छाडिदिने गरेका छन् । आफन्तले भारतबाट काँकरभिट्टा ल्याएर छोडिदिएपछि उनीहरु केही दिनमै बिर्तामोड आइपुग्छन् । बिर्तामोडमा हालसम्म सयौँ मानसिक रोगीहरु भौँतारिँदै आए । र, गए पनि । तर माथि उल्लेखित तीन पात्रहरु वर्षौदेखि यहिँ छन् । उनीहरु कहाँबाट आए, को हुन् भन्ने कसैलाई थाहा छैन ।

DSC02056न उनीहरुलाई खोज्दै कोही आफन्त नै आए, न कुनै संघसंस्थाले उद्दार नै गर्यो । पटकपटक अनाथाश्रम, वृद्धाश्रम गएर सेवा गर्नेहरुको नजर मानसिक सन्तुलन गुमाएका यीनीहरुतर्फ जान सकेको छैन । हस्पिटलै हस्पिटलको शहरको रुपमा चिनिन्छ झापा । झापाका हस्पिटलले कत्तिलाई निःशुल्क उपचार गरिदिएर चर्चा कमाउँछन् । तर, कुनै हस्पिटलले सडकमा रहेका मानसिक रोगीहरुको उपचारमा पहल गरेको देखिँदैन ।

‘मानसिक रोग जसलाई पनि लाग्न सक्छ । यस रोगले धनी, गरीव, पढेको नपढेको केही हेर्दैन,’ बीएण्डसी टिचिङ हस्पिटलका मानसिक रोग विशेषज्ञ डा. कञ्चन दाहाल भन्छन्, ‘बाटोमा फोहोर टिपेर हिँडिरहेका, सडकमा नाङ्गै हिँडिरहेका मानसिक रोगी हामी बिर्तामोडमै पनि देख्छौँ । कुनै संघसंस्थाको पहलमा यदि उपचार पाएमा उनीहरु पनि पहिलाको जस्तै हुने सम्भावना ज्यादै रहन्छ ।’

DSC02058

प्रतिक्रिया