भन्सार राजस्व क्रमशः वृद्धि

इनेप्लिज २०७२ मंसिर ९ गते १:४७ मा प्रकाशित

धुन्चे (रसुवा), ९ मङ्सिर । गत असोज २९ गतेदेखि नेपालको उत्तरी नाका रसुवागढी खुल्ला भएपछि भन्सार राजस्वमा क्रमशः वृद्धि भएको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार स्याउ, तयारी कपडा र ऊनसमेतका सामग्री आयातबाट सोमबार साँझसम्म रु ८३ लाख ६१ हजार ४२२ आय भएको छ । नेपाललाई चीन सरकारले दिएको अनुदानको पेट्रोलियम पदार्थ आयातबापत नेपाल आयल निगमले रु तीन करोड ६४ लाख भन्सार शुल्क पठाएकामा सो रकम सदरस्याहा गर्न बाँकी छ । उक्त रकम भन्सारकै धरौटी खातामा रहेको बताइएको छ ।

अध्यागमन कार्यालयले भने रसुवागढी नाका सञ्चालन भएपछि एक हजार १०९ रसुवावासीलाई नेपाल–चीन सीमाक्षेत्रका लागि प्रदान गरिने परिचयपत्र प्रदान गरिसकेको अध्यागमन प्रमुख ओमप्रसाद पाण्डेले जानकारी दिनुभयो । केरुङसम्म चिनियाँ सामग्री ल्हासाबाट आउन थालेपछि सामान लाद्न सबै नेपाली ट्याङ्कर केरुङ पठाइने गरेको र रसुवा जिल्लाबाहिरका चालकलाई केरुङ जाने अनुमति नहुँदा चालकको अभाव खड्किन थालेको व्यवसायीले बताएका छन् । गत वर्ष यस अवधिमा लगभग रु २० करोड राजस्व उठेको थियो ।

प्रतिक्रिया