आइतबार, साउन १० २०७८
काठमाडौं ०४:५६
वासिङटन डिसी 19:11

कालोबजारी गर्नेमाथि कारबाही हुन्छ: गृहमन्त्री

इनेप्लिज २०७२ मंसिर ५ गते १५:२९ मा प्रकाशित

Shakti-basnetनेपालगन्ज, ५ मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनताको जीउधनको सुरक्षा र उनीहरुको अधिकार संरक्षण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “सरकारले कसैलाई काखा, कसैलाई पाखा होइन समान दृष्टिकोणवाट हेर्ने गरेको छ, उनीहरुको सुरक्षामा आँच पु¥याउने काममा दखल दिनेमाथि कडा कारबाही हुन्छ ।”

नेपालको संविधान विश्वका प्रजातान्त्रिक मुलुकका संविधानको उच्च सूचीमा पर्ने तर्क प्रस्तुत गर्दै मन्त्री बस्नेतले तर पनि कसैलाई संविधानको केही विषयवस्तुमाथि विमति छ भने शान्तिपूर्ण माध्यमबाट जायज माग सम्बोधन गर्न सकिन्छ भन्नुभयो ।

नाकाबन्दी गरेर आम नेपाली जनताको दैनिकी कष्टकर बनाउने, ओखतीमूलोमा आगजनी गर्ने, आन्दोलनमा सरिक नभएका राजनीतिक दलका नेता कार्यकर्ताको घरमा आगजनी गर्ने, जनताको आवतजावत अवरुद्ध पार्ने अवस्थालाई टुलुटुलु हेरेर बस्न सरकार सक्दैन भन्नुभयो ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले नाकाबन्दी भारतले लगाएको हो वा होइन यो भनिरहनु पर्दैन, जगजाहेर भएकै कुरा हो, सबै सीमानाकामा आन्दोलनकारीको धर्ना नभएको अवस्थामा पनि आपूर्ति सहज नहुनाले पनि त्यो कुरालाई प्रष्ट पार्छ भन्नुभयो ।

गृहमन्त्री बस्नेतको थप भनाइ थियो आपूर्ति असहज भएको अवस्थाको फाइदा उठाएर कालोबजारी गर्नेलाई नियन्त्रण गर्न सरकारका सबै निकायलाई सक्रिय बनाइएको छ, त्यस्ता कालोबजारीयालाई कानुनअनुसार दण्ड दिइनेछ ।

यसैबीच, आज यहाँ मध्य तथा सुदूरपश्चिमाञ्चलका तराईका जिल्लाका सबै सुरक्षा निकायका पदाधिकारीसँगको अन्तक्र्रियात्मक छलफल कार्यक्रममा गृहमन्त्री बस्नेतले कुनै पनि राजनीतिक दल र व्यक्तिबाट प्रभावित नभएर कानुनले दिएको अधिकार प्रयोग गरी जनताको सुरक्षा र अपराध नियन्त्रण गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया