नाकाबन्दीले राजस्व प्रभावित

इनेप्लिज २०७२ मंसिर ४ गते १:५० मा प्रकाशित

चितवन, ४ मङ्सिर । भारतीय अघोषित नाकाबन्दीका कारण उद्योग र व्यापारमा कमी आएपछि आन्तरिक राजस्व कार्यालय भरतपुरमा सङ्कलन हुने करमा २५ प्रतिशतले कमी आएको छ ।

नाकामा अवरोध हुँदा भन्सारबाट कच्चा पदार्थ एवम् इन्धन सहज आयात हुन नसक्दा उद्योगहरु प्रभावित भएपछि राजस्वमा भारी कमी आएकोे हो ।

आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख टीकाराम भुसालका अनुसार गएको चार महिनामा रु तीन अर्ब ६८ करोड ८४ लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकामा रु दुई अर्ब ७७ करोड ४८ लाखमात्र राजस्व सङ्कलन भएको छ । यो लक्ष्यको ७५ दशमलव २३ प्रतिशतमात्र हो ।

प्रमुख भुसालले सबैभन्दा बढी अन्तःशुल्कमा प्रभाव परेको बताउनुभयो ।

साउनदेखि कात्तिकसम्म अन्तःशुल्कमा मात्र रु तीन अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु दुई अर्ब १७ करोडमात्र सङ्कलन भएको छ । जुन लक्ष्यको ६८ दशमलव ३२ प्रतिशतमात्र प्रगति हो । उहॉले आयकर, घरबहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर र शिक्षा सेवा शुल्क करमा राम्रो प्रगति भए पनि अन्तःशुल्कसँगै स्वास्थ्य सेवा करमा पनि राजस्व सङ्कलनमा निकै कमी आएको बताउनुभयो ।

स्वास्थ्य सेवा करमा रु तीन करोड ५२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु एक करोड ३८ लाखमात्र राजस्व सङ्कलन भएको छ । जुन ३९ दशमलव ३३ प्रतिशतमात्र हुन आउँछ ।

आयकरतर्फ भने लक्ष्यको १४२ दशमलब ४९ प्रतिशत उपलब्धि भएको छ भने घरबहाल करमा ११५ दशमलब ६२ प्रतिशत, ब्याजकरमा १०१ दशमलब ०४ प्रतिशत, मूल्य अभिवृद्धि करमा ११४ दशमलव २२ प्रतिशत र शिक्षा सेवा शुल्कमा १२९ दशमलब २३ प्रतिशत उपलब्धि भएको प्रमुख भुसालले बताउनुभयो ।

यस कार्यालयले हेर्ने चितवन र नवलपरासीको दाउन्ने पूर्वका क्षेत्रमा धेरै बियर र मदिरा उद्योग छन् । देशभरका बियर उद्योगबाट सङ्कलन हुने अन्तःशुल्कको ८० प्रतिशत हाराहारी राजस्व यही कार्यालयबाट सङ्कलन हुनेमा नाकाबन्दीका कारण अन्तःशुल्कमा सबैभन्दा बढी प्रभाव देखिएको भुसालले बताउनुभयो ।

बियर र मदिराका बोतल सङ्कलन हुन नसक्नु, भन्सारबाट नयाँ बोतल र कच्चा पदार्थ आयात हुन नसक्नु एवम् इन्धनको अभावकै कारण उत्पादन घटेकैले राजस्वमा कमी आएको उहाँले बताउनुभयो ।

आन्तरिक राजस्व कार्यालयमा आयकरतर्फ रु ३६ हजार १४५, मूल्य अभिवृद्धि करतर्फ छ हजार ३८१ र अन्तःशुल्कतर्फ तीन हजार ५४१ करदाता रहेका छन् । आन्तरिक राजस्व कार्यालयले चालु आवमा रु ११ अर्ब ८१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । गत आवमा रु नौ अर्ब ९६ करोड राजस्व सङ्कलन भएकामा अन्तःशुल्कको मात्रै रु आठ अर्ब ४५ करोड रहेको थियो ।

प्रतिक्रिया