ट्रान्समिटरको खराबीले मोदीखोला प्रभावित, आठ गाविसका बासिन्दा चार दिनदेखि अन्धकारमा

इनेप्लिज २०७२ मंसिर ४ गते १:४६ मा प्रकाशित

andhakaarफलेवास (पर्वत), ४ मङ्सिर । यहाँको पातीचौरस्थित १४ दशमलव ८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रबाट प्रभावित आठवटा गाविसका बासिन्दा अहिले अँध्यारोमा रात बिताउन बाध्य भएका छन् ।

मोदी सवस्टेसनमा जडित तीन एमभिए क्षमताको ट्रान्सफर्मरमा समस्या आएपछि पर्वतका आठ गाविसका बासिन्दा विगत चार दिनदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । इन्धन आपूर्तिका कारण समस्यामा परेका स्थानीयवासी विद्युत्समेत बन्द भएपछि थप समस्यामा परेका छन् ।

पातीचौरस्थित सवस्टेसनमा रहेको ट्रान्सफर्मर बिग्रेपछि देउपुर, देउराली, बाजुङ, तिलहार, राम्जादेउराली, चित्रे, आर्थरडाँडाखर्क र भुकदेउराली गाविसमा विद्युत् अवरुद्ध भएको हो ।

उक्त केन्द्रमा बिग्रिएको नयाँ ट्रान्सफर्मर गएको वैशाख महिनामा मात्रै जडान गरिएको थियो । चार दिन पहिलेदेखि बिग्रिएको ट्रान्सफर्मरको समस्या पहिचान भएपछि मर्मतका लागि आज नै हेटौँडा पठाउने तयारी भएको मोदीखोला जलविद्युत् केन्द्रले जनाएको छ ।

मोदीखोला प्रभावित क्षेत्रमा विद्युत् वितरणका लागि एक वर्षअघि कात्तिकमा दमौलीबाट ट्रान्सफर्मर झिकाइएको थियो । पुरानो ट्रान्सफर्मर दमौली फिर्ता पठाएपछि ठेकेदारले वैशाखमा मात्रै नयाँ ट्रान्सफर्मर जडान गरेको थियो । जडान भएको सात महिनामा नै बिग्रिएपछि त्यसको गुणस्तरमा समेत समस्या हुन सक्ने भएकाले छानबिन हुनुपर्ने मोदीखोलाका कर्मचारीले बताएका छन् ।

मोदी सवस्टेसनमा प्रभावित क्षेत्रका लागि मात्रै वितरण गर्न नयाँ ट्रान्सफर्मर जडान गरिएको छ । गत वर्षसम्म यस क्षेत्रमा १ दशमलब ५ एमभिए क्षमताको ट्रान्सफर्मरबाट विद्युत् वितरण हुँदै आएको थियो ।

कम क्षमताको ट्रान्सफर्मरबाट विद्युत् वितरण हुँदा यी गाविसमा हरेक दिन साँझमा विद्युत् भार कटौती भएको भन्दै प्रभावित क्षेत्रका बासिन्दा पटक पटक आन्दोलित भएका थिए । मोदीखोला सवस्टेसनमा यसअघि जडित १ दशमलब ५ एमभिए क्षमताको ट्रान्सफर्मर परिवर्तन गरी ३ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गर्न झन्डै एक वर्ष ढिलाइ भएको थियो ।

प्रतिक्रिया