शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०२:५९
वासिङटन डिसी 17:14

पपुवा न्युगिनी ३ विकेटले विजयी (भिडियोसहित)

इनेप्लिज २०७२ मंसिर ४ गते ०:०९ मा प्रकाशित

Nepal-vs-Png-1
काठमाडौ, २ मंसिर । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पपुवा न्युगिनी विरुद्धको दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २२५ रनको चुनौति पपुवा न्युगिनीले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्‍यो ।

पहिले ब्याटीङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कप्तान पारख खड्काले सर्वाधिक ५८ रनको योगदान गरे। उनले ८१ बलमा ५ चौका सहित ५८ रन जोडे। सागर पुनले ४७, शरद भेष्वाकरले ४२, ज्ञानेन्द्र मल्लले ३६ रनको योगदान गरे ।
सोमपाल कामी १० बलमा ९ रन जोडेर आउट भए भने बसन्त रेग्मीले ७ बलमा ७ रन जोडे। मेहेबुब आलम १५ र शक्ति गौचन २ रनमा अवजित रहे।
पपुवा न्युगिनीका नोर्मन भानुवा र असद भालाले ३- ३ र सेसे बाउले २ विकेट लिए।

२२५ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीका ज्याक भारले अविजित ७६ रन र जोन रिभाले अविजित ३१ रन बनाए।
नेपालका सोमपाल कामीले ३, बसन्त रेग्मीले २ तथा शक्ति गौचन र सागर पुनले १-१ विकेट लिए।

सोमबार भएको पहिलो खेलमा पनि नेपाल पपुवा न्युगिनीसँग समान ३ विकेटले पराजित भएको थियो।

४ खेलमा २ जित र २ हारसँग ४ अंक भएको पपुवा न्युगिनी अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। सबै खेल हारेको नेपाल ८ टोली सहभागी प्रतियोगिताको पुछारमा रहेको छ।

आजै युएइलाई १३६ रनले हराएको हङकङ भने ४ खेलमा ३ जीत हात पार्दै ६ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ। १ जित हात पारेको युएइ सातौं स्थानमा छ। समान ६ अंक भएका केन्या, नेदरल्याण्ड्स र स्कटल्याण्ड क्रमश: दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया