चर्चित हास्य टेलिश्रृंखला ‘तितो सत्य’ आजदेखि बन्द

इनेप्लिज २०७२ मंसिर १ गते ११:१४ मा प्रकाशित

DSC02535-800x532

काठमाडौं । नेपाल टेलिभिजनबाट १२ वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको हास्य टेलिश्रृंखला ‘तीतो सत्य’ आजदेखि औपचारिक रुपमै बन्द भएको छ ।

‘तीतो सत्य’का निर्देशक एवं मुख्य कलाकार दीपकराज गिरीले आफ्नो आधिकारिक फेसबुकमा स्टाटस् लेख्दै औपचारिक रुपमै बन्द भएको जानकारी गराएका हुन् । ‘६ सय भागसम्म निरन्तर प्रसारण भइरहेको नेपालकै सबैभन्दा लामो हास्य धाराबाहिक ‘तीतो सत्य’ अब नेपाल टेलिभिजनमा प्रसारण हुने छैन,’ उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन् ।
कार्यक्रम निर्माण गर्ने संस्था मिडिया हब प्रालि भ्रष्टाचारमा मुछिएपछि आर्थिक अभावले ‘तितो सत्य’ बन्द गर्नुपरेको दिपकले बताए । ‘पछिल्लो समय कार्यक्रम रिपिट गर्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘यसले कार्यक्रमको विश्वसनीयतामा पनि प्रश्न उठायो ।’ केही समयदेखि ‘तीतो सत्य’ को पूरानै भागहरु प्रसारण हुँदै आईरहेको थियो ।
यस्तो छ दिपकराज गिरीले लेखेको स्टाटस:
तीतो सत्य आधिकारिक रूपमा बन्द गरियो : आदरणिय दर्शक महानुभाबहरू ६०० भाग सम्म निरन्तर प्रसारण भैरहेको नेपालकै सबैभन्दा लामो हास्य धारावाहिक “तीतो सत्य ” अब नेपाल टेलिभिजनमा बाट प्रसारण हुने छैन ।
पछिल्लो समय धेरै पटक पूराना भागहरू दोहोरिने, नयॉ बिषय बस्तु नआउने र बिभिन्न बाधाहरू बिच दर्शकहरू को चाहनालाइ सम्बोधन गर्न नसकिएको अबस्थालाइ बिचार गर्दा , जबरजस्ति कार्यक्रमलाइ टिकाइ रहनु भन्दा पछाडि हटनु नै उपयुक्त ठानि यो १२ बर्षे यात्रालाइ पूर्ण बिराम दिने निर्णय गरेका छौ ।
यो लामो समय साथ दिने आदरणिय दर्शक नेपाल टेलिभिजन, सोम दाइ, मीडिया हब कलाकार टेक्निशियन लगायत सम्पूर्ण बिज्ञापनदाता हरूमा ह्दय देखि धन्यबाद दिन चाहन्छौ कूनै पनि बिश्राम शक्ति संचयका लागि हुनु पर्छ अत: यो पनि छोटो बिस्राम मात्रै हो ।
तीतो सत्य यूनिटले दर्शकहरू माझ सबै हास्य कलाकारको सहयोगमा ” छ एकान छ” वडा नम्बर छ” जस्ता चलचित्र पनि नयॉ सोचकै कारण निर्माण गर्न सफल भयो अत: भबिष्यमा पनि फेरी नयॉ सोचका साथ हास्य धारावाहिक तथा चलचित्र निर्माण लाइ निरन्तरता दिने नै छ ।दर्शकको माया निरन्तर पाउने आशा भरोसा सधै झै मनमा सॉचेर बिदा हूदैछौ ।
हॉस खेल गर्दैमा छूटिने बेला भो आजको दिनैमा
जय नेपाल

प्रतिक्रिया