सुक्खा बन्दरगाहद्धारा शुल्क मिनाहा

इनेप्लिज २०७२ मंसिर १ गते ४:३२ मा प्रकाशित

sukha-bandraghaवीरगन्ज, १ मङ्सिर । वीरगन्जस्थित सुक्खा बन्दरगाहले आयातित मालसामानको गोदाम र कन्टेनरको पार्किङ शुल्क मिनाहा गरेको छ ।

मधेस केन्द्रित दलहरुको आह्वानमा अनिश्चितकालीन लगातारको बन्द र हडतालका कारण आयातकर्ताले समयमा ढुवानी गर्न नसकेको भन्दै बन्दरगाह सञ्चालक हिमालियन टर्मिनल्सले ४० दिनको शुल्क मिनाहा गरेको जनाएको छ ।

टर्मिनल्सले गत असोज ३ गतेदेखि कात्तिक १२ गतेसम्मको गोदाम र कन्टेनरको पार्किङ शुल्क मिनाहा गरेको जनाएको छ । मधेस आन्दोलनका कारण बन्दरगाहबाट ढुवानी हुन नसकेपछि त्यो अवधिको शुल्क मिनाहा गरेको हो, टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले भन्नुभयो – “मधेस केन्द्रित दलहरुले विगत तीन महिनादेखि गरेको लगातार मधेस बन्द र हडतालले ढुवानी सेवा प्रभावित हुनुका साथै आयातकर्ताहरुलाई केही राहत सहयोग महसुस गराउनका लागि शुल्क मिनाहा गरिएको हो ।

भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र यो सुक्खा बन्दरगाहमा भारतबाट मालबाहक रेलमार्फत आइपुगेका सामान बन्दका कारण गन्तव्यसम्म जान नपाएपछि विगत डेढ महिनादेखि बन्दरगाह परिसरमा थन्किएका थिए ।

बन्दरगाहबाट आयातित मालवस्तु रेलबाट अनलोड गरेर गोदाम र खुला स्थानमा राखिएको मालसामान र कन्टेनरको पार्किङ शुल्क दर रेट फरक फरक रहेका छन् । गोदाममा सुरुको चारदेखि १० दिनसम्म आयातकर्ताले प्रतिकिलो प्रतिदिन सात पैसाका दरले शुल्क तिर्नुपर्ने हुन्छ । त्यसपछि ११ दिनदेखि ३० दिनसम्म प्रतिकिलो प्रतिदिन नौ पैसा र त्योभन्दा बढी भए प्रतिदिन १४ पैसाका दरले शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ भने सुरुको तीन दिनसम्ममा आयातकर्तालाई शुल्क बुझाउनु पर्दैन ।

त्यस्तै बन्दरगाह परिसरमा खुल्ला स्थानमा अनलोड भएका मालसामान आयातकर्ताले २४ घन्टामा उठाइसक्नुपर्ने व्यवस्था रहेको बताइएको छ । त्यो समयसीमाभित्र कुनै शुल्क नलाग्ने व्यवस्था छ । त्यसपछि सात दिनसम्म प्रतिदिन प्रतिकिलो चार पैसाका दरले र त्यसपछि आठौँ दिनदेखि प्रतिदिन प्रतिकिलो छ पैसाका दरले शुल्क लाग्ने व्यवस्था रहेको सुक्खा बन्दरगाह सञ्चालक हिमालियन टर्मिनल्सले जनाएको छ ।

त्यस्तै आयातकर्ताले कन्टेनरको पार्किङमा प्रतिकन्टेनर प्रतिदिन रु ३५० शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । चौबीस घन्टाभित्र कन्टेनरको ढुवानीमा कुनै शुल्क नलाग्ने व्यवस्था रहेको जनाएको छ ।

बन्दरगाह भन्सार कार्यालयका अनुसार एक दिन सुक्खा बन्दरगाह बन्द हुँदा राजस्वबाहेक नेपाललाई रु एक करोडसम्म घाटा पर्छ । सामान्य अवस्थामा सुक्खा बन्दरगाह भन्सार कार्यालयले दैनिक करिब रु पाँच करोड राजस्व सङ्कलन गर्दै आएकामा बन्द र हडतालका कारण राजस्व सङ्कलन नगन्य मात्रामा हुने गरेको सुक्खा बन्दरगाहका सूचना अधिकृत हरिहर पौडेलले बताउनुभयो ।

यथार्थ तथ्याङ्क नभए पनि मिनाहा गरेको रकम करोडौँको हुन्छ, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले भन्नुभयो – “टर्मिनल्सको यो निर्णयले थोरै भए पनि आयातकर्तालाई राहतको महसुस गराएको छ ।

कात्तिक १९ गतेदेखि सुरक्षा घेराभित्र ढुवानी सुरु भए पनि सुख्खा बन्दरगाहमा अझै एक लाख २० हजार टन मालसामान थन्किएका छन् । सुरक्षाकर्मीको सुरक्षामा कात्तिक १९ गतेयता दुई हजार ट्रक मालसामान सुक्खा बन्दरगाहबाट निकासी भएको बन्दरगाहले जनाएको छ ।

प्रतिक्रिया