आततायी हमला खुला समाज, लोकतन्त्र र सभ्य समाजविरुद्ध छ: प्रम

इनेप्लिज २०७२ कार्तिक २८ गते ११:५० मा प्रकाशित

KP-Oliकाठमाडौँ, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति विभिन्न स्थानमा भएका आतङ्कवादी हमलाको निन्दा गर्नुभएको छ ।

फ्रान्सका राष्ट्रपति फ्रान्सिस होल्यान्डलाई आज शोक सन्देश पठाउँदै उहाँले शोकका यस घडीमा फ्रान्स सरकार र फ्रान्सेली जनताका पक्षमा नेपाल सरकार र नेपाली जनता रहेको बताउनुभएको छ । आततायी हमला फ्रान्सेली जनतामाथिको आक्रमण मात्र नभई खुला समाज, लोकतन्त्र र सभ्य समाजविरुद्धको आक्रमण भएको सन्देशमा उल्लेख गरिएको छ ।

आतङ्कवादको जुनसुकै स्वरुप र प्रकटीकरणका विरुद्ध नेपाल सरकार दृढतापूर्वक लागिरहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यस प्रकारको आततायी घटनामा संलग्न जोकोहीलाई कानुनको कठघरामा उभ्याउनुपर्ने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्रीले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट राष्ट्रपति होल्यान्डप्रति समवेदना प्रकट गर्दै घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

यसैगरी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले आफ्ना फ्रान्सेली समकक्षी लरेँ फाबुइसलाई सन्देश पठाउँदै आतङ्कवादी आक्रमणको घोर निन्दाका सााथ त्यस्ता क्रियाकलापका विपक्षमा नेपालको स्थापित सिद्धान्त रहेको बताउनुभएको छ ।

प्रतिक्रिया