नाकाबन्दीको विरोध गर्दै सत्रौँ विविध भाषा साहित्य सम्मेलन सम्पन्न

इनेप्लिज २०७२ कार्तिक २८ गते ४:४० मा प्रकाशित

भक्तपुर, २८ कात्तिक । मध्यपुरथिमिको बोडेमा यसवर्ष आयोजित सत्रौँ विविध भाषा साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सम्मेलनमा लेखक, कलाकार, साहित्यकार तथा विभिन्न क्षेत्रका विज्ञहरूले भारतीय नाकाबन्दीविरुद्ध नेपाली जनता एकजुट भएर प्रतिरोधमा उत्रनुपर्नेमा विचार व्यक्त गरेका थिए ।

साथै, भारतीय नाकाबन्दीको विरोध र राष्ट्रिय एकताको सन्देश बोकेका साहित्यिक रचनाहरु कार्यक्रममा वाचन गरिएको थियो ।

साहित्य सम्मेलनमा कवयित्री सुलोचना मानन्धर, कवि चन्द्रबहादुर उलक, कृष्णकुमार प्रजापति, हरिहर तिमल्सिना, सजीव श्रेष्ठ, नीरज लवजू, आमोद उलक, रूपकेशरी उलकलगायतका स्रष्टाले भारतीय नाकाबन्दीविरुद्ध रचना वाचन गर्नुभएको थियो ।

नेक्रासांसङ्घ काभ्रे, आस्था सांस्कृतिक परिवारसँग आबद्ध कलाकारहरुले स्वाधीनताको जगेर्ना गर्नुपर्ने सन्देश बोकेको तामाङ, नेपालभाषा र नेपाली भाषा गीत प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेले सरकारमा सहभागी दलहरुको कूटनीतिक असफलताका कारण भारतको नाकाबन्दी अन्तर्राष्ट्रियकरण हुन नसकिरहेको बताउनुभयो ।

अङ्गीकृत नागरिकता पाएकालाई उच्च पदमा जान दिने व्यवस्था भए देशको सार्वभौमिकता सङ्कटमा पर्ने उहाँको तर्क थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् सांसद प्रेम सुवालले भारतले नेपालको संविधान संशोधन गर्न दिएको सात बुँदे दबाब नै मधेसी दलहरूले आन्दोलनको मागको एजेन्डा रहनुले मधेस आन्दोलन भारतीय स्वार्थ पूर्तिका लागि हो भन्ने पुष्टि भएको बताउनुभयो ।

त्यस अवसरमा नेमकिपाका नेत्री एवम् सांसद अनुराधा थापामगर, साहित्यकार भैरव रिसाल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, लेखक डा सरोज धिताल, सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्गलगायतले तराईमा जारी आन्दोलनमा देखिएको भारतीय पक्षको संलग्नताप्रति आपत्ति जनाउनुभएको थियो ।

प्रतिक्रिया