आमा समूहको सक्रियताले टोल उज्यालो

इनेप्लिज २०७२ कार्तिक २८ गते ३:०० मा प्रकाशित

Thumbnails1_Mercury_Vapor_Streetlightपरासी, २८ कात्तिक । नवलपरासीको कावासोती नगरपालिका स्थित सामथ्र्य टोल सामथ्र्य आमा समूहको सक्रियतामा उज्यालो भएको छ ।

सामथ्र्य आमा समूहले अहिले कावासोती नगरपालिका–२ सामथ्र्य टोलमा रहेका १८ वटा विद्युत् खम्बामा बत्ती जडान गरेपछि टोल उज्यालो भएको हो ।

रातिको समयमा सडकका खम्बामा बत्ती नहुँदा हिँड्न पनि समस्या हुने तथा राति चोरीलगायत अवाञ्छित क्रियाकलाप हुन सक्ने भएकाले टोलमा बत्ती जडान गरिएको समूहकी अध्यक्ष पवित्रा पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार समूहमा रहेका महिलाले मासिक रुपमा बचत गरेको रकम तथा समूहमा आबद्ध नभएका घरबाट प्रतिघर रु एक हजारको दरमा रकम सङ्कलन गरी बत्ती जडान गरिएको हो ।

प्रत्येक खम्बामा रहेको बत्ती त्यसको आसपासमा रहेका घरले रेखदेख तथा मासिक रुपमा खपत हुने विद्युत् खर्च व्यहोर्ने गरी टोलमा विद्युत् बत्ती जडान गरिएको हो ।

टोलभरि रहेका १८ वटा विद्युत् खम्बामा करिब रु ३० हजारको लागतमा बत्ती जडान गरिएको हो ।

आमा समूहले समूह स्थापनाको छोटो समयमा बचत सङ्कलनको कार्यसँगै, वातावरणमैत्री टोल निर्माणका लागि साताव्यापी रुपमा टोलको सरसफाइ गर्दै आइरहेको छ ।

प्रतिक्रिया