प्रधानमन्त्री भन्छन्– यो दुखद परिस्थितिको छिट्टै अन्त्य हुन्छ

इनेप्लिज २०७२ कार्तिक २७ गते १३:५० मा प्रकाशित

1काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीबाट सिर्जित अहिलेको कठिन स्थितिबाट नेपाली जनताले छिट्टै मुक्ति पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालीहरूको महत्वपूर्ण पर्व तिहार बेला नाकाबन्दीले आम जनतालाई सास्ती भोग्न बाध्य पारेको बताउँदै उहाँले यो परिस्थिति छिट्टै अन्त्य भई सकारात्मक वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आज आफ्नै निवास बालुवाटारमा भाइटीका ग्रहणपछि सञ्चारकर्मीसँग भन्नुभयो – “यो दुखद परिस्थितिको छिट्टै अन्त्य हुन्छ । त्यसका लागि हामी प्रयास गरिरहेका छौँ । यो विकट परिस्थितिबाट बाहिर निस्केपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्छ ।”

विकासको पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, कृषिको आकुनिकीकरण र औद्योगिकरणतर्फ मुलुक अघि बढ्ने बढाउँदै उहाँले यसका लागि एकजुट हुन सबै नेपालीलाई आह्वान गर्नुभयो ।

उहाँले नाकाबन्दीको सबैभन्दा बढी मार तराईका जनतामा परेको र उनीहरूको असाधारण परिस्थितिप्रति आफू अत्यन्त दुःखित रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो – “तराईका नाउँमा अहिले भइरहेको गतिविधिबाट सबैभन्दा बढी मार त्यहाँका जनतामा परेको छ । जो जहाँ बसेपनि सबै नेपालीलाई परेको पीडा हटाउनुपर्छ र त्यसका लागि म लागिपरेको छु ।”

नाकाबन्दीले मुलुकलाई आर्थिक रुपले ठूलो नोक्सानी पु¥याएको भन्दै प्रधानमन्त्री ओलीलले दुःख प्रकट गर्नुभयो ।

प्रतिक्रिया