पर्यटकीय सम्भावना बोकेको फूलबारी ओझेलमा

इनेप्लिज २०७२ कार्तिक २७ गते १०:४८ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २७ कात्तिक । पर्यटकीय सम्भावनायुक्त म्याग्दीको हिस्तान गाविस– ६ रिमाअन्तर्गत पर्ने रमणीयस्थल फूलबारी ओझेलमा परेको छ ।

घना गुराँसे जङ्गलको बीचमा रहेको समथर भागमा अवस्थित फूलबारी पर्यटकको पर्खाइमा छ । त्यहाँबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने पुनहिलमा दैनिक सयौँ पर्यटकको चहलपहल भए पनि फूलबारी सुनसान हुने गरेको छ ।

फूलबारीसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुनु ओझेलमा पर्नुको मुख्य कारण हो । यहाँको प्राकृतिक सौन्दर्यताका बारेमा प्रचारप्रसारको पनि कमी छ । फूलबारीमा होटल व्यवसाय गर्दै आएका रिमाका यामबहादुर पुनका अनुसार गत वर्ष २५० जना पर्यटकले भ्रमण गरेका थिए ।

यो वर्षको कात्तिक अन्तिम सातासम्म जम्मा ३० जना मात्र पर्यटक आएको होटल व्यवसायी पुनले बताउनुभयो । व्यवस्थित पदमार्गको निर्माण गरी प्राकृतिक सौन्दर्यताको बारेमा प्रचारप्रसार गर्न सकेमा ‘बटरफ्लाई भ्यू’का लागि फूलबारी आकर्षक गन्तव्य बन्न सक्ने पुनको भनाइ छ ।

गुराँसे जङ्गलको पृष्ठभूमिमा हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिने भएकाले बटरफ्लाई भ्यू भनिएको हो । फूलबारी वरपरको जङ्गलमा रातो, सेतोलगायत १५ प्रजातिका गुराँस पाइन्छ । फूलबारीबाट अन्नपूर्ण साउथ, बराह शिख, निलगिरि, घम्पु पिक, धम्पु पास, टुकुचे पिक, धौलागिरि पहिलो, दोस्रो, तेस्रो, पाँचौँ, चौथो र गुर्जा हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।

गुराँस फूलको जङ्गलको बीचमा रहेकाले यस स्थानलाई फूलबारी भनिएको हो । असोज, कात्तिक, मङ्सिर तथा फागुन, चैत र वैशाख महिना फूलबारी भ्रमणका लागि उपयुक्त मानिन्छ । एकान्त वातावरण हुनु प्रकृति प्रेमीहरुका लागि फूलबारीको अर्को विशेषता हो । चराचुरुङ्गीको चिरविरे आवाज सुन्न सकिने यस क्षेत्रमा मृगलगायत जङ्गली जनावरको पनि अवलोकन गर्न सकिन्छ ।

पहिले रिमाका बासिन्दाले बर्खामा गाईभैँसी गोठ राख्ने यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न १० बेड क्षमताको होटल सञ्चालन गरिएको छ । थप १० जना क्षमताको अर्को होटल पनि आगामी मौसमदेखि सञ्चालन गर्ने तयारी भएको छ ।

घोरेपानी–पुनहिल, मोहरेडाँडा, नाँगी–राम्चे, काफलडाँडा, रिमा र शिखको फलाते हुँदै फूलबारी पुग्न सकिन्छ । बेनीबाट जानेका लागि काफलडाँडा–राम्चेको रुट अनुकूल र छिटो छ ।

म्याग्दीको थाली नाच लोकप्रिय

म्याग्दीको चिमखोलामा उत्पत्ति भएको मानिने थाली नाच लोकप्रिय बन्दै गएको छ ।

हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाएको र नाचेको दृष्य निकै रोचक हुन्छ । सावधानीपूर्वक गरिने थानीनाच मौलिक, आकर्षक र संयमित हुनाले लोकप्रिय बनेको हो । पछिल्लो समय थाली नाचसम्बन्धी गीत पनि रेकर्ड भएकाले यसको लोकप्रियता झन बढेको म्याग्दीका अग्रज कलाकार धनकुमारी थापाले बताउनुभयो ।

सुरुदेखि नै यो नाच नाच्दै र सिकाउँदै आउनुभएकी थापाले थाली नाचमा मौलिकता र आफ्नोपन झल्कने बताउनुहुन्छ । दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुँदा थाली नाच रोचक हुने गर्छ । यस्तो नृत्य जो कोहीलाई प्रस्तुत गर्न गाह्रो हुन्छ । धेरै प्रयास गर्नुपर्छ । हातखुट्टा र शरीरको चाल मिल्नुपर्छ । थाल भुइँमा खस्यो भने अशोभनीय मान्ने गरिन्छ ।
पहिले चरेसको थाल नचाउने चलन थियो । अहिले स्टिलको थाल नचाउने गरिन्छ ।

आकर्षक र रोचक हुने भएकाले थाली नाच आजभोलि म्याग्दी जिल्लामा मात्रै नभएर प्रवासका म्याग्देलीले आयोजना गर्ने कार्यक्रममा पनि देखाउने गरिन्छ । थाली नाचसम्बन्धी गीत रेकर्ड भएपछि यसले अझ व्यापकता पाएको कलाकार थापाको भनाइ छ ।
महिला कलाकारले गुन्यु, चोलो, पटुकीको पहिरनमा सजिएर थाली नृत्य गर्ने चलन छ । २०२८ सालमा चिमखोलाकी हरिमाया पुनले देशका विभिन्न ठाउँमा पुगेर देखाउन सुरु गरेको थाली नाच २०४४ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया