नौजना जुवाडे पक्राउ

इनेप्लिज २०७२ कार्तिक २५ गते ५:२६ मा प्रकाशित

juwaजनकपुरधाम, २५ कात्तिक । जिल्ला प्रहरी कार्यालय धनुषाले गएराति जनकपुरमा जुवा खेलाउने घरमा छापामारी करिब रु साढे पाँच लाखसहित जुवा खेल्ने नौजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका नौजनाबाट प्रहरीले रु पाँच लाख ४६ हजार ७०० बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष प्रहरी टोलीले जनकपुर उपमहानगरपालिका वडा न ७ जिरोमाइलस्थित कामेश्वर साहको घरमा जुवा खेल भइरहेको अवस्थामा छापा मारेकोे थियो ।

पक्राउ पर्नेमा घरबेटीसहित धनुषा जनकपुर– ७ बस्ने सुुनिल मिश्रा, शिवशङ्कर साह, सञ्जय साह, उमाशङ्कर साह, राजकुमार साह, वसन्त पञ्जियार, महोत्तरी एकरिया– ६ का सलिम मिया, महोत्तरी बदिया बन्चौरी– ७ का सन्तोषकुमार साह रहेका छन् ।

जिल्लामा चाडपर्वको बहानामा जुवातास खेल्ने प्रवृत्ति नियन्त्रण गर्दै जुवातास र यसले समाजमा सिर्जित पारिवारिकलगायत अन्य नकारात्मक पक्षहरूलाई समेत समयमा नै रोकथाम गर्नुपर्ने प्रहरीको दायित्व हुने भएकाले जिल्ला प्रहरी कार्यालय धनुषा जुवातासविरुद्ध सशक्त अभियानमा लागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी हिन्दूहरूको महान् पर्व तिहार आज मनाइँदै गरिएको भए पनि यहाँ उल्लासमा कमी आएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको तीन महिने लामो बन्दका कारणले तिहारको उल्लासमा कमी आएको हो ।

विगतको जस्तो रौनकता यस पटक देखिएको छैन । तिहारमा विगतका वर्षमा जनकपुर बजार निकै सजाउने गरिएको भए पनि यस पटक बन्दका कारण व्यापार नचलेकाले व्यापारीहरू सादगीका साथ तिहार मनाइरहेका छन् ।

जनकपुर उद्योग वाणिज्य सङ्घका महासचिव जीतेन्द्रप्रसाद साहले विगतमा निकै उल्लास भएको भए पनि यस पटक भने यसमा कमी आएको बताउनु भयो ।

प्रतिक्रिया