नाकाबन्दीले यस्तो छ उपभोक्ताको दैनिकी

इनेप्लिज २०७२ कार्तिक २५ गते ४:५९ मा प्रकाशित

news-parbatपथरी (मोरङ), २५ कात्तिक । तिहारका बेला ग्यास र भनेजस्तो खाद्य सामग्री नपाउँदा मोरङका उपभोक्ताको दैनिकी कष्टकर बन्दै गएको छ ।

संयुक्त मधेसी मोर्चाले सीमाङकनप्रति असन्तुष्टि जनाउँदै करिब तीन महिनादेखि गरेको लामो बन्द र भारतको नाकाबन्दीले मोरङमा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै मूल्यसमेत आकासिएपछि उपभोक्ता चाडवाडको मुखमा महँगीको मारमा पर्नुका साथै भनेजस्तो उपभोग्य सामग्री नपाउँदा जनजीवन कष्टकर बनेको हो ।

नेपालीहरुका महान् चाडपर्व तिहार र छठको मुखैमा बजारमा उपभोग्य वस्तु अभाव देखिएका र दैनिक उपभोग्य सामग्रीको भाउ आकासिएको विराटनगर– १० की सरस्वती काफ्लेले दुःखेसो पोख्नुभयो ।

त्यस्तै ऋण काढेर बिहान बेलुकाको छाक टार्दै आउनुभएका भौडाहा गाविस– ७ सीतापुरका निर्माण मजदुर सजीलाल सरदारले बन्द हडतालका कारण उपभोग्य वस्तु महँगो हुँदा तिहार र छठ कसरी मनाउने भनी चिन्ता परेको बताउनुभयो ।

मोरङका व्यापारीले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अनियन्त्रित रुपमा बढाएका छन् । चामल किलोमा रु ११, दालमा रु ६०, तेल लिटरमा रु ५० बढाइएको छ । यसैगरी साबुन, चिया, पिठो आदिमा पनि मूल्य बढेको छ । तरकारीको मूल्यसमेत बढेको छ ।

मोरङ व्यापार सङ्घका उपाध्यक्ष देवकीनन्दन अग्रवालले बजारमा पहिल्यै गएको खाद्य पदार्थ बाँकी रहेकाले खुद्रा व्यापारीले मूल्य बढाएको हुनसक्ने दाबी गर्नुभयोे । अग्रवालले भन्नुभयो– “हामीले मूल्यमा हेरफेर गरेका छैनौँ खुद्रा व्यापारीले फटाही भएको हुनसक्छ ।”

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बजारमा दैनिक उपभोग्य वस्तुहरु मनपरी बिक्री वितरण हुने गरेको गुनासो बढेकाले बजार अनुगमन गरी दोषी देखिए कारबाही गर्ने बताउनुभयो ।

प्रतिक्रिया