मधेसका माग सम्बोधन गर्न राप्रपाको माग

इनेप्लिज २०७२ कार्तिक २५ गते ४:५३ मा प्रकाशित

काठमाडौँ, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन गरेरै भए पनि मधेसका जायज माग सम्बोधन गर्नु पर्ने माग गरेको छ ।

सो पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले एक विज्ञप्ति प्रकाशित गरी मधेस आन्दोलनकै प्रभावले मुलुकको आपूर्ति व्यवस्था खलबलिएको मात्र होइन अघोषित नाकाबन्दीले गर्दा ठप्पै हुने अवस्थामा पुगेको उल्लेख गर्नु भएको छ ।

विज्ञप्तिमा भनिएको छ आयल निगमले सर्वसाधारणलाई पेट्रोलियम पदार्थ आपूर्ति गर्न नसक्ने घोषणा गरिसकेको छ । यस अवस्थामा सहनशील नेपाली जनताको धैर्यको बाँध फुट्यो भने के हुन्छ ?

यो भयावह सम्भावनालाई आत्मसात् गर्दै सरकारले उच्चस्तरको राजनीतिक र कूटनीतिक कौशलको प्रयोग गरेर मुलुकको आपूर्ति व्यवस्था सहज बनाउन सार्थक भूमिका निर्वाह गर्नु पर्ने माग गरिएको छ ।

मित्र राष्ट्रहरुसँग सार्वजनिक वक्तव्यहरुमार्फत होइन मर्यादापूर्ण कूटनीतिक कौशलबाट मात्र समस्याहरु समाधान हुन सक्छन् भन्ने सरकारसँग हाम्रो आग्रह र अनुरोध छ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया