देश टुक्रयाउने मागकै कारण वार्ता असफल: मन्त्री सापकोटा

इनेप्लिज २०७२ कार्तिक २४ गते १२:२६ मा प्रकाशित

agni-sapkotaभक्तपुर, २४ कात्तिक । वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटाले देश टुक्रयाउने खालको माग राखेकै कारण आन्दोलनरत मधेसवादी दल र सरकारबीचको वार्ताले पूर्णता पाउन नसकेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेस आन्दोलनका जायज माग भने सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो ।

भारतको नाकाबन्दीसँगै चीनतर्फका दुई नाकालाई तत्काल सुचारु गरेर नेपालीको चुलो बाल्ने अवस्थाको सिर्जना गर्न सरकार लागिरहेको उहाँको भनाइ थियो । मन्त्री सापकोटाले भारतले विगतमा पनि नाकाबन्दी लगाएको अनुभवलाई सरकारले सम्झेर काम गर्न नसक्दा नेपाली आत्मनिर्भर बन्न नसकेको उल्लेख गर्नुभयो ।

बढ्दो वन तस्करीलाई नियन्त्रण गर्न सरकारले विशेष कानुन ल्याउन लागेको बताउँदै उहाँले धार्मिक आडमा वन अतिक्रमण गरेर बसेकालाई समेत कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

नेपाली काँग्रेसले विगतको सहमतिलाई तोडे पनि उसलाई सरकारमा ल्याउन एनेकपा (माओवादी) लागिपरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया