औषधि सकियो, के गर्ने ?

इनेप्लिज २०७२ कार्तिक २४ गते १०:४४ मा प्रकाशित

medical-storeबुटवल, २४ कात्तिक । नाकाबन्दीको कारण यस क्षेत्रमा अत्यावश्यक औषधिको अभाव भएको छ ।

नेपालमा वार्षिक करिब रु ३५ अर्बको औषधि भारत तथा तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको नेपाल औषधि व्यवसायी महासङ्घले जनाएको छ । यसरी विदेशबाट आयात हुने औषधिमध्ये ५५ प्रतिशत औषधि भारतबाटै आउने गरेको महासङ्घका पूर्वअध्यक्ष बाबुराम भट्टराई बताउनुहुन्छ ।

“भारतबाट आउने भारतीय उत्पादनका औषधि दुई महिनादेखि पूर्णरुपले रोकिएको छ” उहाँले भन्नुभयो ।

भारतबाट आउने औषधिमध्ये औषधिजन्य सर्जिकल सामान मात्र करिब रु १२ अर्बको नेपाल भित्रिने गरेको र अन्य २५ अर्बको औषधि खपत हुने गरेको उहाँ बताउनुहुन्छ । नेपालमा उत्पादित औषधिले ४० प्रतिशत मात्रै माग धान्ने भएकाले अन्य भारतबाट आयात हुने गरेको छ ।

औषधि आयात नभएपछि अहिले शल्यक्रिया तथा मुटुरोगसम्बन्धी औषधिको अभाव सुरु भएको छ । शल्यक्रिया गर्दा प्रयोग हुने सर्जिकल सामान, सलाइन तथा हृदयाघात हुँदा प्रयोग गरिने औषधि तथा अक्सिजनको अभाव भएको व्यवसायीको भनाइ छ ।

भैरहवा नाकाबाट औषधि ल्याउन नदिएपछि एक सातादेखि सुनौलीमा रोकिएको छ । यसरी लामो समयसम्म औषधि जस्तो अत्यावश्यक वस्तु सीमा क्षेत्रमा रोकिँदा असमान तापक्रमका कारण गुणस्तरमा समस्या हुनसक्ने भन्दै व्यवसायीहरु चिन्तित देखिन्छन् ।

व्यवसायीले औषधि व्यवस्था विभागमार्फत औषधिलाई जहाजबाट ल्याउने वातावरण मिलाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया