शुक्रबार, साउन ८ २०७८
काठमाडौं २२:३०
वासिङटन डिसी 12:45

बिहारमा मोदीको लज्जास्पद हार, नीतिश-लालुको महागठबन्धनलाई विशाल बहुमत

इनेप्लिज २०७२ कार्तिक २२ गते १६:२८ मा प्रकाशित

DSC02711-150x150

काठमाडौं, २२ कात्तिक । भारतको बिहार राज्यमा सम्पन्न विधानसभा चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लज्जास्पद हार व्यहोरेका छन् । आइतबार सार्वजनिक भएको विधानसभा चुनावको प्रारम्भिक मत परिणाम अनुसार नीतिश कुमार र लालु यादवको महागठबन्धनले बहुमत ल्याएको छ । चुनावको मतगणना दिउँसो १ बजे सकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नीतिश-लालु महागठबन्धनले कुल २४३ सीटमा १७८ सीटमा जित हात पारेको छ । बहुमतका लागि १२२ सीटमा विजय हुनुपर्ने थियो । भारतीय प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टीले ५९ सीटमा मात्रै जित हात पारेको छ । चुनाव प्रचार प्रसारका क्रममा निकै खटिएका मोदीले पहिलो पटक यसरी लज्जास्पद हार व्यहोरेका हुन् । बाँकी ६ सीटमा अन्य दलहरुले जितेका छन् । मतपरिणामपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमारलाई फोन गरेर बधाई दिएका छन् । बीजेपी गठबन्धन हिन्दूस्तान अवाम मोर्चा (हम), लोक जनशक्ति पार्टी(एलजेपी) र राष्ट्रिय लोकसमता पार्टी(आरएलएसपी) समेटिएका छन् । बीजेपी गठबन्धनमा अध्यक्ष अमित शाह, प्रधानमन्त्री नरेन्द्र मोदीसहित अग्रणी नेताहरु र हम दलका जितराम माझी, एलजेपीका रामबिलास पासवान, आरएलएसपीका उपेन्द्र कुसवाहा रहेका छन् । यस्तै, महागठबन्धनमा जनता दल युनाइटेड (नितिश कुमार), राष्ट्रिय जनता दल(लालुप्रसाद यादव) र भारतीय कांग्रेस रहेका छन् । अब मुख्यमन्त्री नितीश कुमारसहितको महागठबन्धनले पूर्ण बहुमतका साथ बिहारमा राज्य सरकार बनाउने स्थिती देखिएको छ ।

प्रतिक्रिया