जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

इनेप्लिज २०७२ कार्तिक २२ गते ४:१२ मा प्रकाशित

Road Accidentबाबियाचौर (म्याग्दी), २२ कात्तिक । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा शनिबार साँझ जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।

जोमसोमदेखि म्याग्दीको बेनी आउँदै गरेको ध१ज ९३६९ नंको जिप सडकबाट खस्दा बेनी नगरपालिका– ७ का २६ वर्षीय राजेन्द्र केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका पाँचजनालाई जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी राति नै पोखरा पठाइएको र दुईजनाको बेनीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक हीरा गिरीले बताउनुभयो ।

घाइते हुनेमा बेनपा– ६ का २८ वर्षीय मन्दीप शाक्य, उनकी श्रीमती २६ वर्षीया गीता र तीन वर्षीया छोरी युनिक शाक्य रहेका छन् ।

यसैगरी बेनपा– ९ का २५ वर्षीय हरि चोखाल, बेनपा– ७ का ३० वर्षीय राजकुमार केसी, सोही ठाउँकी ३१ वर्षीया भवानी केसी र उनकी दुई वर्षीया छोरी निपुल केसी पनि घाइते भएका छन् ।

मुस्ताङको भ्रमण गरी फर्कंदै गरेका उनीहरु चढेको जिप साँझ ७ बजे सडकदेखि दुई सय मिटर तल कालीगण्डकी किनारमा खसेको थियो ।

प्रतिक्रिया