झुरेस्ट दशैं र ड्राइभर

इनेप्लिज २०७२ कार्तिक २१ गते १०:१६ मा प्रकाशित

Tiharहिन्दुहरूको बहुप्रतिक्षित एवम् विशिष्ट पर्व विजयादशमी पूर्णिमासँगै जमरा सेलाएर भर्खरै सकिएको छ ।  तर संघारमै छ दोस्रो ठूलो पर्व- तिहार । सदाको जस्तै यसपाला पनि दशैं आयो, गयो । तर दशैं दशैंजस्तै लागेन आँफुलाई । कार्यब्यस्तताले गर्दा नवमी बिहानसम्म शहर छोडेर गाउँ पस्न नसक्नुको पीडा एकातिर थियो । अर्कोतिर- भनेको समयमा गाडी पाइँदैनथ्यो । कसै पाइहाले अकबरे खुर्सानी जस्तै पिरो थियो गाडीभाडा । रातमा यात्रा गर्नुको आनन्द अलि बेसी लाग्छ मलाई । र त सँधैजसो बस छुट्ने स्टेशन नारायणगढ-पुलचोक पुगें । दुर्भाग्य, त्यसरात गाडी नछुट्ने जानकारी पाउँदा “दशैं मुर्दावाद” भन्न पछि परिन । काउण्टरवालाले डिजेलको अपर्याप्तता र भोलिको दशैंका कारण गाडी जान नमान्ने कारण देखाउँदै पन्छियो । तर उसका अगाडि मेरो क्यै सीप लाग्नेवाला थिएन । बरू, कसरी हुन्छ मलाई मेरो जन्मभूमि बागलुङ-बलेवा आइपुग्नु थियो । “पृथ्वी राजमार्ग” लेखिएको एउटा बस पोखरासम्म आइपुग्न पुलचोकमा लम्पसार थियो । खाली खाली । म भने भरसक बागलुङ पुग्ने गाडीको प्रतीक्षामा थिएँ । आँखाहरू पर…परबाट आइरहेका बसहरुतर्फ टाँगिएका थिए । तर कुनै बसहरू ममाथि  दया गरेर बाग्लुङ ल्याइपुर्याउनका लागि हाजिर थिएनन् । यसरी बस कुर्नुको पीडा जिन्दगीको सबैभन्दा नमीठो पिडा थियो मेरा लागि । कुर्दाकुर्दा उपायशून्य भैसकें । हातको घडीले खुट्टाहरू तन्काइरहेका थिए । वर्षकै सबैभन्दा विशिष्ट पर्व दशैं घुमिराखेको थियो वरिपरि । समय घटिरहेको थियो । ब्यथा बढिरहेको थियो । तर पाइएको थिएन गाउँ पुग्ने साधन । पुलचोकबाट “म्याजिक” पक्रेर नारायणगढ बस टर्मिनल (पोखरा बसपार्क) पुगें । धेरैजसो बसहरू पार्किङ एरियामा सुतेर दशैं मनाइरहेका झैं लाग्थ्यो । मान्छेको आवतजावत अत्यधिक पातलो थियो । तर म मात्रै यस्तो थिएँ जसलाई दशैं भन्ने आएकै थिएन । काउण्टरमा पुगेर सोध्न कर लाग्यो नै । सोध्दा उस्तै रेडिमेड जवाफ आयो- बाग्लुङ जाने कुनैपनि बस छैन । तर पोखराको लागि अन्तिम एउटा बस छ । “पोखरासम्म त्यसैमा जानुहुन्छ त ?” म निरुत्तर भैगएँ । पिलपिल आँखामा आँसु दौडिन थाले । मन दौडन थाल्यो । तर खै, दौडिने बस ? यसबीचमा कैयन पटक गाउँबाट आमाले फोन गर्दै सोधिरहनु भयो- “कान्छा ! कहाँ आइपुगिस् ?” म झन् अत्यासिन्थें । छट्पटी बढ्थ्यो । झुठ नै सही, आमा आत्तिनु होला भन्ठानेर अझैसम्म हिनेको छैन भनिरहें । जबकि  गाडी खोज्न भौंतारिइरहेको थिएँ म । भोलिको दशैं यतिबेलासम्म पनि हिनेको छैन भनेर गाउँमा आमा छट्पटिनु भयो होला । तर भन्नु चैं भएन । -तपाईँ काँ जाने नि ? -बागलुङ । अनि तपाईं नि ? -कुश्मा । ठुलिपोखरी । -अनि टीका छ त भोलि ? -छ्नी । किन तपाईँको……? -मेरो पनि छ । तर….. मजस्तै गाडीको खोजी गरिरहेको एउटा ठिटो भेटियो पोखरा बसपार्क नारायणगढमा । उसको अर्ध उदासीन चेहरा हेरेर आफ्नो ब्यथा घटाउने बहाना मिल्यो मलाई । ऊ पनि पुग्न चाहन्छ मातृभूमि  । लगाउन चाहन्छ बा-आमाको करकमलबाट गाढा राता अक्षता ललाटभरी र पहेंला जमरा । थाप्न चाहन्छ अशेष आशीर्वाद । तर कताकता उसको मुहार चाउरिए झैँ देखिएको छ । शिथिल छ । हैरान छ । चिन्तित छ । अझ मभन्दा ज्यादा पीडित पो देखिन्छ ऊ । मानौं उसका सामु मेरो ब्यथा, मेरो पीडा क्यैपनि होइन । उपाय नास्तिको स्थितिमा पुगेपछि एउटा निर्णय नलिईकन घर पुगिने छाँटकाँट देखिएन । बसपार्क पछाडिबाट बस, माइक्रोबस त अलिअलि चलिरहेका थिए, तर सबै काठमाडौंका लागि । ठिटो र मैले सल्लाह गर्यौं । जसानुसार पोखराको बसमा जाने भयौं । र पोखराबाट बस पाइए बस, नत्र ट्याक्सीमा भएपनि कुश्मासम्म पुग्ने अठोट भयो । बस कुरिबस्यौं । केहिबेरमा नै हर्न बजाउँदै  बस आइपुग्यो । तर अचम्म ! मैले पुल्चोकमा चढ्न नमानेको बस त्यही रहेछ । म दंगदास भैगएँ ।   अब त बसमा सिट थिएनन् । सरी, सिट त थिए तर प्याक्ड् थियो । यतिसम्म कि उभिनेसम्म ठाउँ पनि थिएनछ । अबको विकल्प के ? यही एउटा आधाबाटोसम्म पुग्ने गाडी सिवाय कुनै विकल्प भएको भए मरिजाम् । ऊ र म बसको हुटमाथि बस्न अभिशप्त बन्यौं । यसरी पोखरासम्म आउने यात्रा तय गरियो । बस जिक्ज्याक् बाटोमा कहिले कोल्टिन्थ्यो । कोल्टिँदा, कता मरिन्छ भन्ने भयले हनुमान चालिसा पढिरहन्थें म । देवीको नाउँ स्मरण गरिरहन्थें । जस्तोकि अरूलाई कुनै मतलब छैन । बस कोल्टिए पनि र पल्टिए पनि । जस्तोकि दशैं मनाउन म मात्रै यात्रा गरिरहेको छु । छैनन् उनीहरू । भनेंनि- बस न्यून मात्रामा गुडिरहेका थिए । हुटमा बस्न/चड्न नदिने प्रहरी प्रशासन मौन थियो यो समयमा । किनकि निश्चित गन्तव्यमा पुग्न पर्याप्त सवारी साधन थिएनन् । त्यसमाथि पर्वको बेला मान्छे जसरी पनि यात्रा गर्न मन्जुर थियो । प्रहरीका आँखा छेउ भएरै अत्यधिक लोड बोकेर छिटफुट गाडीहरू बेरोकटोक चलिरहे । चलिरहे । बुङ्बुङ धूलो उडाउन कसैले रोक्न सकेन बसलाई । बसको ड्राइभरले पनि खाली बाटो भेटेर होला, स्पीड कम गर्न चाहेन । न हावाको सिरेठोले तालुमा हान्न छोड्यो । बरू नाकबाट पातलो सिंगान बग्न थाल्यो । आँखामा हावाले घोचेर बलेसीबाट पानी तप्किए जसरी आँसु तप्किए । जे होस्, अनेक कष्ट सहेर पनि जसोतसो पोखरा उत्रियो । घडीमा रातको आठ बजिसकेको रहेछ । “पृथ्वी राजमार्ग” लेखिएको बसले ठ्याक्कै पृथ्वी चोकमा ल्याइपुर्यायो । दुबैजना उत्रियौं । उत्रिए सबै । बसले त्यहीँ  आफ्नो शिथिल शरीर बिसायो । उसको गन्तव्य सकिँदा यता हाम्रो भने आधाजस्तो यात्रा ज्युँ का त्युँ थियो । मनमा अब यतिबेला बागलुङका लागि बस पाइन्छ भन्ने आश रत्तिभर थिएन । अँ, ट्याक्सी पाइन्छ कि भन्ने झिनो आश कहाँ यसै मरेको थियो र ! कथम् नपाइए होटलमा बसेर बिहानै बागलुङका लागि निस्कने मनोदशा बनिसकेको थियो । तर ठिटोले पोखरा साथीकोमा बस्ने गुप्त योजना बुनिसकेछ । पत्तै नदिईकन । पृथ्वीचोक, सिर्जनाचोक र जिरो किमि हुँदै बाग्लुङ बसपार्कतर्फ हाम्रा पाइताले दुरी नाप्दै गए । ऊ भन्थ्यो- गाडीमा जाउँ । म भन्थें- हिनौं । हिन्नुपर्छ । स्वास्थ्यका लागिपनि फाइदाजनक छ । यसरी संवार्ता गर्दै हिनिरह्यौँ । ऊ चैं पर्स्याङ्ग आइपुगे पश्चात् साथीको डेरातर्फ मोडियो । एकपटक पनि मेरो बारे सोधेन, सोचेन । आखिर बाटोमा भेटिएको एक अन्जानयात्री न हो ऊ । आमातिरको न बाउतिरको । हतास थिएँ । र हतारमा पनि । कवि श्यामलको “हतारमा यात्रा” कविताको पुनरावृत्ति भइरह्यो । साथीले पनि आफ्नो बन्दोबस्त गरेपछि मलाई खल्लो लाग्नु स्वभाविक थियो ।  एकखालको डरजस्तै भरिएको थियो मनमा । अनेकथोक सोच्थ्यो मनले । मनले नै टुक्राउँथ्यो । र कुल्चन्थ्यो पनि यही मनले नै । म बल्लतल्ल पोखराको  बाग्लुङ बसपार्कमा आइपुगें ।  र चुरोट तानेझैं गरि लामो सास तानें । फ्यालें पनि चुरोटकै धुँवा जसरी नै । अनि बल्ल अलिकता सुकुन मिल्यो । जस्तो नारायणगढमा थियो उस्तै दशा देखियो पोखरामा । सबैसजो गाडीहरू पार्किङमा थिए । एकाध ट्याक्सीको ब्रेक लाइट बलिराखेकै थियो । मान्छे भने देखिन्नथे । होटलका सटर टोटल्ली क्लोज्ड् थिए । थिए त बिच बाटोमा उभिईरहेका दुई प्रहरी जवान मात्रै । -“सर ! बागलुङ जाने जाडी पाउँदैन ?” सोधें । -“खै, दिउँसो चलेका थिए । तर अहिले चलेका छैनन् भाइ” उसले भन्यो । यता मैले फेरिपनि पिडाको गहिरो सास फेरें । -“काँ पुग्ने भाइ?” उसैले सोध्यो । -“बाग्लुङसम्म” मैले बतलाएँ । खै किन हो, मेरा कुरा सुनेर ओठ मुख खुच्मुच्यायो जवानले । मैले अपलक हेरिरहें । -“अहिले होटलमा बस्नोस् । बिहान जानुहोला” अर्को जवानले धन्न सहानुभूति देखायो । -“होटलहरू त सबै बन्द छन् नि सर” रूँलारूलाँ झैं गरि मेरो अवरुद्ध गलाले बोल्यो । -“लु, यो नम्बरमा फोन गरेर सोध्नोस् । कोठा छकि छैन” होटलको बन्द शटरमाथि झुन्डिएको बोर्ड र त्यसमाथि लेखिएको साहूको नम्बरमाथि लाइट देखाइँदिदै जवानले अह्रायो । मैले एकएक गरेर मोबाइलमा नम्बर थिचें । कल गरें । दुर्भाग्य, यहाँपनि साहु सपरिवार दशैं मान्न गाउँ गएका रहेछन् । पर्वततिर । ******* -“काँसम्म पुग्ने भाइ?” एकजना ट्याक्सीवाला बोलाएझैं गरि टुपुलुक्क आइपुगे । -“कुश्मा” छोटो जवाफ थियो मेरो । -“जाउँ ट्याक्सीमा” चिने जसरी नै भने । -“भाडा?” कोट्याएँ उनलाई ! -“प्रतिब्यक्ती एक हजार । चारजना लानुपर्ने हुन्छ एकपटकमा । तपाईं एक्लै जाँदा अलिकति भाडा बढ्नुहोला । म अलि घटौंला नि । हुन्न ?” अन्य यात्रुको भाडापनि मतिर प्लस गर्ने उनको मनोदशा बुझ्न कत्ती बेर लागेन मलाई । -“उसोभए त जान्न । कुश्मा पुगेपनि होटलमा नठहरिई हुन्न । बरू, बस्नु बस्नु यहीँ बस्छु र भोलि सबेरै जान्छु ।” अलि झोक्किएँ म । -“मेरो घरपनि कुश्मानै हो । तपाईं नगएनि म त जानैपर्छ । बिस्वास लाग्दैन भने नजानोस् । जानुहुन्छ भने होटलमा लगेर राखिदिउँला । बोल्दैबोल्दै जान साथी पनि हुन्छ मलाई” उनी अलि भावुक बने । उनको भावुकताले मलाई पनि पगाल्दै लग्यो । एक्लै थिएँ । यसर्थ पनि जान अनकनाइरहेको थिएँ । किनकी भोलिको चाड थियो । बीचैमा क्यै भैहाले….? हुन त मान्छेको मन बाहिरी आवरण हेरेर निर्क्यौल गर्न सकिँदैन । उसलाई बुझ्न एकपटक संगत गर्नैपर्ने हुन्छ । यहाँ त एउटा गलत/खराब ड्राइभरका कारणले अरूमाथि अविश्वास गरिन्छ । एउटा खराब नेताका कारण सिंगो राजनीति नै फोहोर लाग्छ । तर “बाइ द वे” क्यै भैहाल्यो भने गर्ने चैं के ? मेरो दिमाखले काम फिटिक्कै गरिरहेको थिएन । छन त आर्मी, पुलिस, सिडिओ, नेता धेरैजनासँग सम्बन्ध छ । आँफै लेखक र पत्रकार भएका कारणपनि धेरै छन् पत्रकार साथीहरू । कसरी पो गलत हुनसक्ला र ? म यही आत्मविश्वासका साथ ट्याक्सी चढें । भाडाको सहमती एकहजार मात्र भएको थियो । निकै गफिँदै गएछौं हामीहरू । लोकदोहोरी गीत घन्किन थाले । यस्तो लाग्यो- बर्षौँदेखि हाम्रो परिचय छ । लुम्लेमा रोकेर नास्ता गर्यौँ दुबैले । किनकिन मन भने झस्किरहन्थ्यो घरीघरी । लगभग दुई घण्टामा पोखराबाट कुस्मा आइपुगियो । उनैले होटल खोजेर मेरो बस्ने बन्दोबस्त गरिदिए । खाना खान उतिसारो मन थिएन । संयोगवश होटलमा खाना पनि थिएनछ । मेरा लागि ठिकै भयो । ट्याक्सीबाट झरेर भाडास्वरूप हजार रूपैयाँ बुझाएँ उनलाई । मलाई सकुशल ल्याईपुर्याउने ट्याक्सीको नम्वर नोट गरें- ध १ ज- ४१० । ड्राइभरको नाम सोधें । नाम- प्रविन पाइजा पुन मगर । र फेरि मोबाइल नम्बर मागें । उनैले सहजै आफ्नो नम्बर दिईदिए । र हामी त्यहीँबाट छुटियौं । त्यो रात शिवालयको एउटा होटलमा कट्यो । आमालाई कुस्मा आइपुगेको जानकारी गराउँदा उता आमा खुसी यता म । सवेरै उठेर डब्बा झुन्डिएको तुइन तरेर बलेवास्थित घरमा आइपुगें । तोकिएको समयमा टीका जमरा ग्रहण गरियो । न मामाघर । न अन्त कतै । कहिँकतै निस्कन मन लागेन । सुतेरै दिन बित्यो । दशैं गयो । तर दशैं कतैबाट दशैंजस्तै लागेन । एकदम झुरेस्ट । अहिलेसम्मकै झुर दशैं । आज दशैंको स्मृति लेखिरहँदा उनै असल मनका  ड्राइभरलाई सम्झिरहेको छु खुब ! –

प्रतिक्रिया