आइतबार, साउन १७ २०७८
काठमाडौं ०८:०३
वासिङटन डिसी 22:18

एक दुई सातामै आपूर्ति सहज हुन्छ

इनेप्लिज २०७२ कार्तिक १९ गते ६:२३ मा प्रकाशित

ganesh-man-pun

छिमेकी भारतको अघोषित नाकाबन्दीका कारण मुलुकले चरम अभाव खेरिरहेको बेलामा बाणिज्य तथा आपूर्ति मन्त्री बन्नु भएका गणेशमान पुन एक दुई सातामै आपूर्ति सहज भएर जाने विश्वास ब्यक्त गर्नु हुन्छ । उहाँसँग पत्रकार ऋषि धमलाको कुराकानी

मुलुकमा देखिएको ईन्धन संकटको समाधानको उपाय के के खोज्नु भएको छ ?
मैले यो सरकारमा सहभागि भईसकेपछि केही कुराहरु अगाडि बढाएको छु । पहिलो भनेको ईन्धन संकट समाधान गर्न चीनसँगबाट आपूर्ति गर्न एमओयू गरेको छु । हाम्रो राष्ट्रिय खपतको निश्चित प्रतिसत हामीले ब्यापारिक ढंगले खरिद गर्ने । दोस्रो कुरा भनेको अहिलेसम्म आयल निगमले मात्रै तेल खरिद गरेर कारोवार गर्ने स्थिति थियो तर अहिले संकटको बेलामा सबै प्राईवेट पार्टीहरुलाई कस्ले सक्नु हुन्छ भनेर हामीले आब्हान गर्यौ । त्यसकोलागि नियममा संसोधन गर्यौ । यसको साथसाथै भारतको नाकामा ठूलो संख्यामा रहेका गाडिहरुलाई रिरुटिङ्ग गर्ने काम भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमण जाँदा खाली नाकाबाट सम्भव भएसम्म भित्राउने कुरालाई एकदमै फलो अप गरेका छौ । भनेजस्तो परिणाम हासिल नभएपनि केही लोडिङ्गहरु भने भईरहेको छ । केही परिणाममा ईन्धन आएको छ भारतबाट आउँदै नआएको भन्न नमिल्ने भएको छ ।

भारतबाट पेट्रोलियम पदार्थ नआउनुको कारण चाँही के रहेछ ?
यसको कारण मैले देखेको छैन । उहाँहरुले तपाईहरुको आन्तरिक समस्या समाधान गर्नुस भनेर भन्नु हुन्छ । तराईको समस्या हाम्रो समस्या हो । हामीले यत्रो संविधान जारी गर्यौ । त्यसमा थारु,मधेस जनजातिहरुको केही समस्याहरु बाँकी छ । त्यो हाम्रो कुरा हो, हामी हल गर्छौ । हल गर्नु पर्छ । ती विषयमा संविधान पारित गर्दा फरक मत राखेर आएको पार्टीको कार्यकर्ताको नाताले के भन्दछु भने छिटो भन्दा छिटो समस्याको हल गर्नु पर्छ ।

तर समस्या त हल गर्न सक्नु भएन नि ?
हो, बार्ता भईरहेको छ । सबै जिम्मेवार भएर प्रस्तुत हुनु पर्छ । माग राख्ने दाजुभाई दिदी बहिनीहरुले पनि यो जिम्मेवार भएर सोच्नु पर्छ । सरकारले पनि छिटो छरितो ढंगले यो गर्नु पर्छ ।

भारतले पेट्रोलियम पदार्थ रोकै हो, नाकाबन्दी लगाएकै हो ?
उहाँहरुले घोषित रुपमा रोकेका छैनौ भनेर पनि भन्नु भएको छैन । तर परिणाममा आउँदा त्यो देख्न सकिन्छ । हामीले रिरुटिङ्ग गरौ भन्दा पनि हुँदैन । कतै क्लियरेन्स हुँदैन, कतै केही कुराले अड्काउँछ । परिणाममा हेर्दा भारतले अघोषित नाकाबन्दी गरेकै छ ।

अघोषित नाकाबन्दी अन्त्य गर्न के गरिरहनु भएको छ त ?
परराष्ट्रमन्त्री स्तरमै हाम्रो मन्त्रालयका सचिवसहित कुरा भईसकेको छ । त्यसलाई छिटो भन्दा छिटो सहज बनाउने प्रयास छ । आयल निगमका अधिकारी मात्रै होईन डिपो डिपोमा पनि कुरा हुनु पर्छ भनेर हामीले टास्क फोर्स बनाएका छौ । उहाँहरु २४ घण्टे ड्यूटी सिफ्ट बनाएर लागि रहनु भएको छ । र हामीले पनि मन्त्रालय स्तरमा परराष्ट्रमन्त्रीको स्तरमा भएको कुराकानी कार्यान्वयनको लागि फलोअप गरिरहेका छौ ।

तपाईहरुले भारतसँग सम्बन्ध तोडेर जाने सोच बनाउनु भएको हो ?
होईन, त्यस्तो हामीले सोचेका पनि छैनौ ।

चीनसँग तेल ल्याउने सम्झौता भएपछि भारतसँगको सम्बन्ध त तोडियो नि ?
त्यसो हुँदैन । एउट मित्रले त्यसो भन्नै सक्दैन । भारत हाम्रो अत्यन्त निकट मित्रहो उसले त्यसो भन्नै सक्दैन । ब्यापार तथा पारवाहन सन्धी छ, अन्तर्राष्ट्रिय सन्धी छ । हामीले हाम्रो हितको लागि अझै अहिले त बाच्नको लागि केही कुरा गर्नु पर्छ । भारत र चीनबाट मात्रै होईन, हामीले अरु मुलुकबाट पनि लिनु पर्छ । हामीले प्राईवेट पार्टीहरुलाई आब्हान गरेका छौ । उहाँहरुले प्रस्ताव दिईरहनु भएको छ । यो डिस्र्टवेन्स भईरह्यो भने हामीले बाच्नकोलागि पनि लिनु पर्छ । दुई छिमेकी मुलुकसँग हामीले हाम्रो हितमा सम्झौता गर्नु हाम्रो अधिकारको कुरा हो । चीन र भारत कसैले पनि मित्रको नाताले त्यसप्रति आपत्ति जनाउँनु हुँदैन । हामी दुई विकासमा अघि बढीरहेको ठूलो देशका विचमा छौ । दुबैको विकाससँग हामीपनि अघि बढ्न चाहन्छौ ।

चीनसँग ईन्धन ल्याइसकेपछि अब दिर्घकालिन रुपमा नेपालमा संकट हुँदैन ?
संकट विभिन्न कारणले आउँछ । राजनीतिक, सामाजिक, भौगोलिक र प्राकृतिक कारणले संकटहरु आउँछ । त्यसैले हामीले चौतर्फी रुपमा नाकाहरु खुला गरेर राख्नु पर्छ । परिणाम कहाँबाट कति ल्याउने ? स्वभाविक रुपमा भारतसँग भईरहेको छ । म अनुरोध गर्न चाहन्छु, छिटो भन्दा छिटो समाधान होस । बाहिर चीनसँग सम्झौता गर्दा भारतसँग जोरि खोजेको हो कि भन्छन । नेपाल भारत र चीनको विचमा छ, त्यसैले दुबै तिर समान सम्बन्ध भयो भने नै उहाँहरुलाई फाईदा गर्छ । हामीले अहिले चीनसँग सम्झौता गर्नुको अर्थ भारतलाई नकार्नु होईन । चीन तिर हामी सुरुवात गर्दैछौ, यो धेरै पहिला गर्नु पर्दथ्यो । अहिले हामी त्यो ठाँउमा पुगेका छौ । योसँग भारतसँगको नाका पनि सहज हुनु पर्दछ । हामी यो भुमण्डलीकरणको यूगमा सानो चिप्समा केन्द्रीत भएको विश्व ब्यापार गर्न चाहन्छौ ।

ईन्धनकोलागि अहिले हाम्रो प्राथमिकता चीन कि भारत ?
हामीले गर्ने ब्यापारको भोलुम तलमाथि हुन सक्छ तर हाम्रा दुबै हाम्रा छिमेकी मुलुक हुन । चीनसँग सम्झौता भईसकेको छ त्यसबाट हामी ब्याक हुँदैनौ र भारतसँग पनि राम्रो सम्बन्ध बनाउँछौ । चीनबाट सधै तेल आईरहन्छ । भारतबाट धेरै आउँछ ।

चीनबाट नेपाल आउने पेट्रोलियम पदार्थ महंगो पर्छ रे नि ?
अध्ययन भईरहेको छ । अलिकति तलमाथि हुन सक्छ तर हाम्रो अनुरोध छ अहिले हामीले जुन दरमा किनिरहेका छौ त्यो भन्दा धेरै फरक नपरोस । तर जस्तो सुकै मुल्य हुँदा पनि एउटा निश्चित हिस्सा चाँही ल्याउँछौ नै ।

कम्यूनिष्टहरुको सरकार बनेपछि भारत भन्दा चीनसँग मिलेर जानु पर्छ भन्ने बहस सधै सुरु हुन्छ, अहिले पनि सुरु भएको हो ?
त्यसो होईन, हामी कुनै ट्रेडिस्नल कम्यूनिष्ट होईनौ । हामीले अहिलेको समय परिस्थिति अनुसार अगाडि जान चाहन्छौ । फेरियो कम्यूनिष्ट सरकार नै भनेर बनाएको सरकार पनि होईन । लोकतान्त्रिक गणतन्त्र सस्थागत गर्न बनाएको सरकार हो यो । कम्यूनिजम र कम्यूनिष्ट सरकार भनेर बनाएको होईन । त्यसैले चीन र भारत दुबै तिर समदुरी बनाउन सक्नु हाम्रो सफलता हुन्छ । त्यसो गर्यो भने दुबै देशको विकासको गतिसँगै हाम्रो पनि तिब्र विकास हुन्छ । हामी भारतलाई माईनस गरेर जाने सोचमा छैनौ । यस्तो चर्चा गर्नु कसैको हितमा छैन । कुनै देशले आफू तर्फ परनिर्भर गर्न खोजे त्यो उनीहरुको पनि हित हुँदैन । ब्यापारिक हिसावले हामी दुई छिमेकी देशसँग अरु सबै देशसँग सम्बन्ध राख्छौ । अब हामी हाम्रा प्राकृतिक स्रोतको उख्नन, बैकल्पिक उर्जाको विकास गरेर आत्म निर्भर हुनु पर्छ ।

भारतसँगको सम्बन्धलाई कसरी सुधार्नु हुन्छ ?
कुटनीतिक र राजनीतिक तहमा छलफल गरेर गर्न सकिन्छ । बुझाईमा एक रुपमा ल्याउनु पर्छ । हाम्रो घर भित्रको चुलो चौको झगडामा उहाँहरुले अ‍ैचौपैचो पनि दिन्न भन्नु भएन । त्यो कुरामा उहाँहरुले समिक्षा गर्नु पर्छ । अहिले उपप्रधानमन्त्री तहमा भएकोसहमति कार्यान्वयन गर्न फलोअफ गरिरहेका छौ ।

यो संकट कहिलेसम्म ?
दुई महिनादेखि यो समस्या छ । तर एकाएक समाधान गर्न त गाह्रो हुन्छ । हामी समाधानकोलागि हामी यूद्ध स्तरमा लागिरहेका छौ । मलाई लाग्छ केही सातामा सहज भएर जान्छ । जसरी पनि समस्या समाधान गरिन्छ । यसकोलागि योजना बनाएका छौ । दुई तीन वटा विकल्प बनाएर काम गरिरहेका छौ । अहिले तत्कालको लागि ग्यास जति आएको छ त्यसलाई संकलन गरेर सबै जनतालाई तिहार अघि घरमा पुर्याउने कोसिस गरेका छौ । अहिले आधा सिलिण्डरलाई वितरण गरिरहेका छौ । त्यसलाई अनुगमन गर्ने एउटा संयन्त्र पनि बनाएका छौ । यस्तो बेलामा ब्यवसायी पनि जिम्मेवार हुनु पर्छ । संकट परेको बेला अनावश्यक फाईदा लिने कुरा सहिदैन ।

प्रतिक्रिया