काठमाडौँ–रसुवागढी सडक निर्माण र स्तरोन्नति गरिने

इनेप्लिज २०७२ कार्तिक १८ गते १४:४३ मा प्रकाशित

timthumb.phpकाठमाडौँ, १८ कात्तिक । चीनबाट इन्धन ल्याउन प्रयोग गरिएको रसुवाको रसुवागढी नाकासम्म पुग्ने सडक सुधार एवम् स्तरोन्नतिका लागि सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिएको छ ।

काठमाडौँ–गल्छी–रसुवागढी १६४ किमी सडकमध्ये काठमाडौँदेखि गल्छी ५४ किमी सडक दुई लेन भएपनि गल्छीदेखि रसुवागढीसम्म ११० किमी सडक एक लेनको भएकाले इन्धन ढुवानीलगायत यातायात सञ्चालनमा पनि समस्या भएको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयले जनाएको छ ।

“यसमध्ये पनि रसुवाको राम्चेदेखि मूलखर्कसम्मको ६ किमी सडकमा बर्सेनि ठूला पहिरो गइरहने भएकाले कालोपत्र गर्न सकिएको छैन, यही स्थानमा मङ्गलबार यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना यात्रुको निधन भयो”– क्षेत्रीय निर्देशक इन्जिनियर किशोरनाथ गोङ्गलले भन्नुभयो ।

रसुवागढीसम्म पुग्ने छोटो दूरीका अन्य दुई मार्ग भए पनि दुवै मार्ग बन्दै गरेकाले इन्धनका ट्याङ्कर सञ्चालनका लागि सहज नभएको सडक डिभिजन कार्यालय विदुरले जनाएको छ । टोखा–गोर्खेभन्ज्याङ–छहरे हुँदै त्रिशूली ५७ किमी र बालाजु–ककनी–रानीपौवा हुँदै त्रिशूली पुग्ने ७६ किमी सडकमध्ये एउटा मार्गको स्तरोन्नति गर्न सकिए केरुङबाट नेपालभित्र इन्धन ढुवानी गर्न सहज हुने डिभिजन प्रमुख रोहितकुमार बिसुराल बताउनुहुन्छ ।

“त्रिशूलीबाट रसुवागढीसम्मको ७६ किमी दूरीमा पनि ट्र्याक खोलिँदै गरेको बेत्रावती–मैलुङ–स्याफ्रुबेँसीसम्मको ३० किमी दूरीमा नेपाली सेना र हाइड्रोपावर सञ्चालकले २२ किमी काम भएकाले बाँकी आठ किमीको काम गर्न सकिए अझ कम दूरीमा रसुवागढी नाका पुग्न सकिन्छ, यो मार्गको उपयोग गर्न सकिए सधैँ पहिरो जाने र बर्सेनि दुर्घटना हुने राम्चेको सडक पनि छलिन्छ”–डिभिजन प्रमुख बिसुरालले भन्नुभयो ।

अहिले सडकमा पहिरो पन्छाउने साधनसहित २४सैँ घन्टा सडक सुधारका लागि जनशक्तिको परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो । इन्धन ल्याउने ट्याङ्कर ओहरदोहर हुनसक्ने गरी सडक चौडा बनाउने काम निरन्तर भइरहेको छ । सडक दुई लेन बनाउन विभाग र मन्त्रालयसँग पत्राचार भइसकेको पनि डिभिजन प्रमुख बिसुरालले जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर रसुवागढी–काठमाडौँलाई चीनले ‘ट्रेड रुट’का रुपमा विकास गर्न लागेकाले स्याफ्रुबँेसीसम्म दुई लेन सडक बनाइदिने विषयमा वार्ता भइरहेको बताउनुहुन्छ ।

“बेत्रावतीबाट त्रिशूलीको किनारैकिनारको सडकलाई पूर्णता दिएर सडकलाई छोटो बनाउने गृहकार्य भइरहेको छ, यो सडकको १५ किमी ट्र्याक खोल्न बाँकी छ, यसपछि काठमाडौँको दूरी १३० किमी मात्र हुन्छ, साढे तीन घन्टामा आइन्छ, यो मार्गको निर्माण एवम् स्तरोन्नतिमा मन्त्रालयले योजना बनाउँदै छ” – सचिव ठाकुरले भन्नुभयो ।

प्रतिक्रिया