भक्तपुर, १७ कात्तिक । भक्तपुरको सल्लाघारीमा आज बम भेटिएको हल्ला चलेपछि यो क्षेत्रमा पाँच घन्टासम्म तनाबको स्थिति बन्यो ।
बिहान ११ बजे सल्लाघारीस्थित इवामुरा अस्पताल र सैनिक आवासीय महाविद्यालय नजिकै तीनवटा झोला झुन्ड्याइएका र त्यसमा बम रहेको हल्ला चले पछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले त्यस क्षेत्रलाई नियन्त्रणमा लिएर सर्च गरेको थियो ।
बम राखिएको हल्ला चलेपछि प्रहरीले सो क्षेत्रलाई घेराबन्दी गरेपछि सल्लाघारीबाट दूधपाटी जाने सडक बन्द गरेको थियो भने पैदल यात्रीलाई समेत आवतजावतमा रोक लगाइएको थियो ।
तीन घन्टा ढिलो आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले एक घन्टाको सर्चपछि झोलामा बम नभएको पुष्टि गरेको थियो । मानसिक अवस्था बिग्रेकी एक महिलाले ल्याएर सोमबारदेखि राखेको उक्त झोलाका कारण अनाहकमा सुरक्षाकर्मी र सर्वसाधारणले दुःख पाएका थिए । पछि उनी आफ्नो खानेकुरा र लत्ताकपडा रहेको भन्दै लिन आएकी थिइन् ।
प्रतिक्रिया