निगालो फुल्दा किसान चिन्तित

इनेप्लिज २०७२ कार्तिक १५ गते ६:३४ मा प्रकाशित

nigalo@keshu-130x106बागलुङ, १५ कात्तिक । हिउँदमा बस्तुभाउलाई हरियो घाँस र डोका, डालाडाली बुन्न प्रयोग हुने निगालो बाँस फुलेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

जिल्लाभरका ग्रामीण भेगमा निगालो बाँस फुलेको महिना दिन बढी भइसकेको छ । अघिपछि हरियो देखिने भिर, पहरा, खोल्साखोल्सी बाँस फुलेपछि फुर्सै बनेका छन् ।

स्थानीयवासीका अनुसार करिब २५–३० वर्षपछि यसरी निगालो बाँस फुलेको हो । मल्म–८ का सम्मरबहादुर थापाले आफ्नो जीवनकालमा यसरी बाँस फूलेको दुईपटक देखेको उल्लेख गर्नुभयो । हिउँदमा हरियो घाँसका रुपमा प्रयोग हुने निगालो बाँस डोका, चित्रा बुन्न पनि प्रयोगमा आउने गरेको छ ।

“महिनौँ दिनसम्मको घाँस गुम्यो, अब नयाँ बाँसघारी पलाउन ५÷७ वर्ष लाग्छ” – थापाले भन्नुभयो । प्रायः घरका नजिक रहेका खोल्सा, खरबारी र जङ्गलमा निगालो बाँस हुने गर्छ । अहिले गाउँघरमा रहेको निगालोमा फूल लागेको छ । फूल झरेर नयाँ बोट निस्की फेरि घारीको रुप लिन वर्षांै लाग्ने भएपछि किसानमा निराशा छाएको छ । देशैभर यसरी निगालो बाँस फुलेको हुनसक्ने अनुमान गरिएको छ ।

बाँस फुलेर सुक्न थालेपछि खेर जान नदिन किसानले काटेर डोका, नाम्ला, चित्रा बुन्ने योजना बनाउन थालेका छन् । त्यो पनि गर्न नसके बाँस त्यसै सुकेर खेर जाने अवस्थामा पुगेको मल्म–८ का ज्ञानबहादुर थापाले बताउनुभयो । उहाँले सुकेको बाँस तरकारीबालीमा थाँक्रा हाल्ने र दाउराका रुपमा प्रयोग गर्नेबाहेक अर्को विकल्प नरहेको उल्लेख गर्नुभयो ।

स्थानीयवासीले बाँसको आयु पुगेकाले यसरी फुलेर सकिन लागेको अनुमान गरेका छन् । मध्यम हावापानी भएको पहाडी गाउँहरुमा यस्तो निगालो बाँस हुने गरेको छ ।

निगालो बाँस फुले पनि सँगै रहेका तामे, धनु बाँस भने फुलेका छैनन् । उच्च पहाडी लेकमा हुने मालिङ्गो जातको निगालो पनि फुलेको हुनसक्ने आँकलन गरिएको छ । कतिपयले यसलाई भूकम्पको प्रभावका रुपमा पनि लिएका छन् ।

हावापानी परिवर्तनको असरले पनि एकसाथ निगालो फुलेको हुनसक्ने कतिपयको बुझाइ छ । जिल्ला वन कार्यालय बागलुङका सहायक वन अधिकृत रामबहादुर विकले उत्पादनशील समय सकिएका कारण निगालो फुलेको हुनसक्ने बताउनुभयो । उहाँले निगालो फुलेर सुके पनि एक÷दुई वर्षमै नयाँ पलाउने जानकारी दिनुभयो ।

बागलुङ जिल्ला निगालोबाट बन्ने हस्तकलाका सामग्रीका लागि प्रख्यात छ । निगालोको चोयाँबाट डोका, नाम्ला, डालाडाली, मान्द्राजस्ता घरेलु सामग्री तयार गरिन्छ ।

प्रतिक्रिया