शनिबारदेखि खाना पकाउने ग्यास पाउने

इनेप्लिज २०७२ कार्तिक १२ गते १४:५२ मा प्रकाशित

Gasकाठमाडौँ, १२ कात्तिक । लामो समयदेखिको इन्धन सङ्कट समाधान गर्ने उद्देश्यका साथ ग्यास उद्योगी सङ्घले शनिबारदेखि राजधानीमा ग्यास वितरण गर्ने भएको छ ।

व्यवसायीले ७.१ किलोको दरले ग्यास वितरण गर्न लागेका हुन् । हाल वितरणमा रहेको ग्यासको सिलिन्डर १४.२ किलो छ । आधा क्षमताको ग्यास वितरण गरिएपछि मूल्य पनि आधा मात्रै लिने तयारी गरिएको छ । प्रतिसिलिन्डर रु एक हजार ४०० मा बिक्रीवितरण हुँदै आएको ग्यास रु ७०० मा बिक्री गरिने छ र परिणाम पनि आधा मात्रै रहने छ । राजधानीमा दैनिक ५० हजार सिलिन्डरको माग छ ।

मुलुकभर करिब ६२ लाख सिलिन्डर ग्यासका ग्राहक छन् । दुई महिनादेखि जारी तराई–मधेस आन्दोलन र एक महिनाभन्दा बढीदेखि जारी भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव रहँदै आएको छ । ग्यास नपाएपछि राजधानीका उपभोक्ताले वैकिल्पक उपाय अपनाउन थालेका छन् । कालोबजारी गर्नेले प्रतिसिलिन्डर रु पाँच हजारसम्म बिक्री वितरण गर्ने गरेको गुनासो आएको छ ।

पछिल्ला केही दिनमा भारतबाट आएका २५ बुलेट ग्यास राजधानीमा ल्याउने तयारी गरिएको हो । तराईमा रोकिएका बुलेटलाई प्रहरी सुरक्षामा राजधानी ल्याइएको हो । एक बुलेट ग्यासमा एक हजार २०० सिलिन्डर ग्यास भर्न सकिन्छ । आधा परिणाम मात्रै दिँदा एक बुलेटबाट दुई हजार ४०० सिलिन्डरमा ग्यास भर्न सकिन्छ ।

नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले उद्योगी व्यवसायीले ७.१ किलो ग्यास वितरण गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार तराईका विभिन्न नाकामा रोकिएका ग्यासको बुलेट ल्याएर वितरण गर्ने तयारी गरिएको छ ।

ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उद्योगबाट ग्यास वितरण गर्दा वास्तविक उपभोक्ताले नपाएकाले बिक्रेतामार्फत वितरण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार बिक्रेतामार्फत ग्यास वितरण गर्दा काठमाडौँ उपत्यकाका कुना कुनाका उपभोक्तालाई ग्यास उपलब्ध गराउन सकिने भएकाले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा प्रमाणित भएका बिक्री केन्द्रबाट ग्यास बिक्री गर्न लागिएको हो ।

बिक्री केन्द्रबाट ग्यास वितरण गर्दा कालोबजारीसमेत कम हुने व्यवसायीको भनाइ छ । ‘‘उद्योगीले उद्योगबाट ग्यास वितरण गर्दा कालोबजारी मौलायो, त्यसलाई नियन्त्रण गर्न पनि डिलरलाई दिन लागिएको हो ’’ थापाले भन्नुभयो ।

काठमाडौँ उपत्यकामा हाल छ हजारभन्दा बढी ग्यास बिक्री गर्ने डिलर छन् । उद्योगमा शुक्रबारसम्म ग्यास बुलेट आइपुग्ने र पुनःभरण गरेर वितरण गरिनेछ । हाल मुलुकमा ५३ ग्यास उद्योग र करिब ६२ लाख सिलिन्डर छन् । मासिक २० लाख सिलिन्डर ग्यासको खपत हुने गरेको छ ।

ग्यास ढुवानी गर्ने करिब ४०० बुलेट छन् । ती सबै भारतका हुन् । भारतसँगका धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज, विराटनगर र काँकडभिट्टा नाकाबाट ग्यास भित्रिन्छ ।

सामान्य अवस्थामा छ नाकाबाट दैनिक सरदर ६६ बुलेट ग्यास आयात हुने गरेका छन् । दुई महिनादेखि बन्द भएको रक्सौल नाकाबाट ७० प्रतिशत ग्यास भित्रिन्छ । हाल रक्सौलमा ग्यास बोकेका ३०० बुलेट रोकिएका छन् । अन्य नाकामा करिब ५० बुलेट रोकिएका छन् । यस्तै करिब ५० बुलेट तराईमा भित्रिएका छन् ।

प्रतिक्रिया