शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०२:३९
वासिङटन डिसी 16:54

सङ्क्रमणकालको मुख्य अवधि सकियो: प्रम

इनेप्लिज २०७२ कार्तिक १२ गते १४:३७ मा प्रकाशित

Rss_Images_1446126970278_Pro_Ktm_ President Bidhai (9)काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको जटिल सङ्क्रमणकालीन अवस्थामा गणतन्त्रपछिको प्रथम राष्ट्रपतिको गहन जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुभएकामा निवर्तमान राष्ट्रपति डा रामवरण यादवको योगदानको उच्च प्रशंसा गर्नुभएको छ ।

डा यादवको बिदाइ समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानले नदेखेका बाटो र दुई पटकको संविधानसभाको निर्वाचन, यसबीचमा विभिन्न सरकारका कार्यकालसमेतलाई पार लगाउँदै संविधान घोषणा र कार्यान्वयनसम्म उहाँले निर्वाह गर्नुभएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले डा यादवको बाँकी जीवन फरक ढङ्गले देश र जनताको सेवामा व्यतीत हुने विश्वास व्यक्त गर्दै आवश्यक पर्दा सरकारले रायसुझाव लिन पछि नपर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “संविधान जारीसँगै सङ्क्रमणकालको मुख्य अवधि पार भएको छ, अब संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायको गठन र अन्य बाँकी कार्यभार पूरा गरिनेछ ।”

नयाँ संविधानमा विश्वका अन्य मुलुकमा पनि केही न केही असन्तुष्टि हुने जनाउँदै उहाँले राष्ट्रको हित र स्वाभिमानमा आँच पुग्ने विषयमा सम्झौता नहुने बताउनुभयो ।

उहाँले नेपाल कुनै पनि राष्ट्रको शत्रु नभई विश्वमा शान्ति र मित्रता फैलाउने पक्षमा रहेको स्पष्ट गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, आर्थिक विकास र पुनः निर्माणमा सरकार क्रियाशील हुने दृढता व्यक्त गर्नुभयो ।
उहाँले नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल हुने कामना पनि गर्नुभयो ।

प्रतिक्रिया