शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०७:४९
वासिङटन डिसी 22:04

बोको हराम समूहले बन्धक बनाएका ३३८ व्यक्ति रिहा

इनेप्लिज २०७२ कार्तिक ११ गते १४:२७ मा प्रकाशित

अबुजा (नाइजेरिया), ११ कात्तिक । नाइजेरियाली विद्रोही समूह बोको हरामद्वारा बन्धक बनाइएका ३३८ जनालाई नाइजेरियाको सेनाले उक्त समूहको नियन्त्रणबाट सकुशल मुक्त गराएको यहाँको सेनाले बुधबार जनाएको छ ।

सेनाले बोको हराम नियन्त्रित नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रोनोको सम्बिसा जङ्गल क्षेत्रलाई घेरा हाली मङ्गलबार सकुशल रिहा गराएको बताएको छ ।

बन्धकबाट रिहा भएकामध्ये १९२ केटाकेटी, १३८ महिला र आठ जना पुरुष रहेको सेनाद्वारा बुधबार प्रेषित एक वक्तव्यमा जनाइएको छ ।

घेरा हाली बन्धकलाई रिहा गराउने कारबाहीका क्रममा ३० जना बोको हराम लडाकूको समेत मृत्यु भएको वक्तव्यमा जनाइएको छ ।

रिहा गरिएका सबै बन्धकलाई अहिले सेनाले ब्रोनोको मुवी सहरमा राखिएको छ । निश्चित प्रक्रियापछि बन्धक मुक्त गरिएका नागरिक आफन्तजनलाई हस्तान्तण गरिने सेनाले बताएको छ ।

नाइजेरियामा बोको हरामका बढ्दो हिंसात्मक गतिविधि देखिएसँगै सन् २०१५ को डिसेम्बरभित्र बोको हराम समूहका गतिविधिलाई नियन्त्रणमा ल्याउन नाइजेरियाली राष्ट्रपति मुहमदु बुहारीले निर्देशन दिनुभएको छ ।

यसैअनुरुप सेनाले बोको हराम समूहविरुद्ध आफ्ना गतिविधिलाई तिब्रता दिएको हो ।

प्रतिक्रिया