मानव भएर पनि मानवद्धारा नै शोषित भएर बाँच्नुपर्ने जिवन नेपालको कटुसत्य हो :वरिष्ठ मानव अधिकारकर्मी तथा अधिवक्ता साधना घिमिरे भेटुवाल

इनेप्लिज २०७२ कार्तिक ८ गते २१:४९ मा प्रकाशित

h

वरिष्ठ मानव अधिकारकर्मी तथा अधिवक्ता साधना घिमिरे भेटुवाल काठमाडौँ निवासी हुन् l काठमाडौँ स्कुल अफ ल (काठमाडौँ कानुन शिक्षालय )बाट मानव अधिकार तथा लिङ्ग न्यायमा स्नातकोत्तरमा स्वर्ण पदक प्राप्त गरेकी घिमिरेलाई धेरै परिचय दिई रहनु नपर्ला l मानव अधिकार सम्बन्धि लामो समय देखि संलग्न हुदै आएकी घिमिरेले नेदरल्याण्डबाट अन्तर राष्ट्रिय कानुन तथा दिगो विकासमा पनि स्नातकोत्तर गरेकी छिन् l

उनि द्वन्द र प्रवासन सम्बन्धि बिषयमा बिद्या वारिधिमा अध्ययनरत छिन् भने मानब अधिकारबादी घिमिरे हाल सयुक्त राष्ट्र संघ विकास कार्यक्रमको द्वन्द रोकथाम कार्यक्रमको टोलि प्रमुख छिन् l

उनि संग भेटघाट गर्ने क्रममा अमेरिका पहिलो पटक कहिले र किन आउनु भो ? र ,अमेरिकाबाट के कुराबाट ज्यादै प्रभावित हुनु भयो, भन्ने जिज्ञासमा उनि भन्छिन अमेरिकासँग मेरो सम्बन्ध १२ बर्ष पूरानो हो र सन् २००४ मा पर्यटकको रुपमा आएको हुँ भनिन l

f

उनले अगाडी भनिन सन् २००७ मा नेपाल स्थित अमेरिकी दुतावासको संयोजन र अमेरिकाको (राज्य बिभाग ) को निमन्त्रणामा म लगायत अन्य ४ अधिवक्ताहरु समेतको टोलीले अमेरिकाको संघिय न्यायप्रणालीको अध्ययन गर्ने एक महिना लामो अन्तरराष्ट्रिय आगंतुक आदान प्रदान कार्यक्रममा सहभागी हुने अवसर पाएको बताईन l

त्यसै समयमा पश्चिम, उत्तर र दक्षिणी भेगका राज्यहरुको न्याय प्रणालीका बारेमा जान्ने अवसर पाएको र तत्पश्चात म ग्लोबल राइट्स पार्टनर फर जस्टिस (न्यायको लागि विश्व अधिकार साझेदार )भन्ने अमेरिकी संस्थाको नेपालस्थित कार्यालयको प्रमुखको रुपमा दुईबर्ष कार्यरत रहेको बताईन l वाशिंगटन डिसी स्थित प्रधान कार्यालयमा भएका विभिन्न कार्यक्रमहरुमा पटक पटक सामेल भएको भन्दै संयुक्त राष्ट्र संघ विकाश कार्यक्रम सँग आवद्ध भए पश्चात भने त्यो पहिलो भ्रमण रहेको संमरण गराईन ।

अमेरिकामा सबैभन्दा बढि मन पर्ने कुरा स्वतन्त्रताको प्रत्याभूति नै हो भनिन l नेपालमा प्रायजसो घरमा १० बर्षे देखि बृद्धावस्था सम्मका घरेलु कामदार राखेको देख्न सकिन्छ । मानव भएर पनि मानवद्धारा नै शोषित भएर बाँच्नुपर्ने जिवन नेपालको कटुसत्य हो । अमेरिकामा मानव अधिकारको प्रत्याभूति यस कारण उच्च रहेको पाएको छु । काम र श्रमको सम्मान नै बास्तवमा स्वतन्त्रता र स्वावलम्बको आधारशिला हो भनिन l

i

उनलाई हामीले अमेरिकाबाट भर्खर नेपाल फर्कनु भएको छ, प्रवासमा रहेका नेपालीहरुको नेपाल प्रतिको आम धारणा कस्तो पाउनुभयो भनि जिज्ञासामा उनले यसरि कुरा राखिन ,२० दिन नेपाल बाहिर अमेरिकामा बसेर नेपाल आउँदा नेपालमा मन्त्रीमण्डल परिवर्तन, भारतद्धारा अघोषित नाकाबन्दी, खाद्धान्न र तेलको अभाव जस्ता समस्याहरु आई सकेका रहेछन् ।

उनले भनिन आफुलाई २० दिनमा नै त लौन, यो के भएको हो जस्तो लाग्यो भने लामो समय नेपाल बाहिर प्रवासमा बसेका नेपालीहरुलाई नेपालमा जिवन चुनौतिपूर्ण छ भन्ने लाग्नु स्वाभाविक नै हो । सबै जसोले राजनैतिक चुनौति हुँदाहुँदै भुईचालोले थप असामान्य परिस्थिति श्रृजना गरेकोले नेपालमा मानव जिवन जोखिमयुक्त रहेको र गरिबी बढेको अनुमान गरेको पाएँ भनिन l

भला कुसारी कै क्रममा तपाई कानूनको अधिवक्ता, मानवअधिकार कर्मी तथा सामाजिक कार्यकर्ताको साथै संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको मानव अधिकार र शान्ति निर्माण कार्यक्रम तर्फको टोली नेताको रुपमा कार्यरत हुनुहुन्छ । कस्तो छ मुलुकमा शान्ति र मानव अधिकार भन्ने जिज्ञासमा उनि भन्छिन :

नाजुक छ । दण्डहिनता यथावत छ । सेना, प्रहरी, न्यायालय, विधानसभा जस्ता राज्यका संयन्त्रहरु संचालनमा रहेता पनि समन्वय र चेतनाको कमीका कारण समाजमा मानव अधिकार प्रति नकारात्मक भावना रहि आएको छ । महिलामाथि दुर्ब्यबहार बन्द गरौँ, घरेलु हिंसा नगरौँ भन्दा घरभाँडुवाको आरोप लाग्ने गरेको अनुभव ताजै छ भनिन l

बालबालिका जोखिम यूक्त जिवन बाँच्न बाध्य छन् । ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा नगन्य छ । विभाजित समाज भएका कारण मानव जिवनको मूल्य पनि विभिद छ भनिन l

उनले अगाडी भनिन सन् २००६ मा भएको शान्ति सम्झौतामा नयाँ संविधान निर्माण, भत्केका संरचना पूनर्निर्माण र माओबादी सेना समायोजन भएमा शान्ति स्थापना हुने ध्येय रहेको छ । तर शान्तिका लागि सामाजिक सद्भाव र हिंसामा कमि आउनु अत्यावश्यक हुन्छ । यो नियमित रुपमा राज्यका कार्यक्रम र योजनाहरुमा समावेश गरिनु पर्दछ । तसर्थ नेपालमा शान्ति निर्माण र द्धन्द रोकथाममा निरन्तर काम गर्नुपर्ने छ कुरामा जोड दिईन l

e

महिला अधिकारकर्मी तथा कानुन अधिवक्ताको हैसियतले भन्नुपर्दा नेपाल र अमेरिकाका नयाँ पूस्ताको बिच के अन्तर देख्नुहुन्छ ? अवस्था, समस्या,अफ्ठ्यारा र चुनौति कस्ता छन् भन्ने प्रश्नमा उनले यसरि आफ्ना धारणा राख्दै भनिन पछिल्लो समयमा नेपालमा निजि विद्यालयहरुले अंग्रेजीलाई अनिवार्य र प्रमुख भाषा बनाइ शिक्षामा आमुल परिवर्तन गरेका छन् ।

संगीत, संस्कृति, कला जस्ता सिमाहिन क्षेत्रहरुको व्यापकताका कारण अमेरिका र नेपालका नयाँ पुस्ताहरुबीच त्यति धेरै फरक छैन । तर नयाँ पुस्ता र माथिल्ला पुस्ता बीच भने ठुलै विच्छेद देख्दछु भनिन । अधिकारको प्रयोग गर्ने क्षमता पनि निकै फरक छ । नयाँ पुस्ताको चेतनाको स्तर पनि निकै फराकिलो छ । नेपालको कानुन निर्माणको प्रकृया भने अझै पूरातन भएकोले नयाँ पुस्ताले खोजेको जस्तो मानव अधिकार र कानुनको विकाश भने अझ सम्भव छैन । तर नयाँ संविधान भने निकै उदार र खुला भएको हुँदा अब बन्ने कानूनहरु नयाँ पुस्ताका भावना र आवश्यकताहरुलाई समेत समेट्न सक्ने हुनेछन् भन्नेमा कुरामा आफु आशाबादी रहेको बताईन l

कुराकानी कै क्रममा नेपालको संविधान २०७२ मा महिलाका सबै मानव अधिकारहरु संबोधन भएका छैनन् भनिन्छ नि । बास्तविकता के हो भन्ने जिज्ञासामा उनि भन्छिन संविधान देशको मूल कानून हो । मूल कानूनमा सबै अधिकारहरु अटाउने प्रश्नै हुँदैन । तर पछि बन्ने ऐन, नियम र अन्य कानूनहरुले भने अधिकारहरुलाइ प्रत्याभूति गर्नुपर्ने हुन्छ ।

उनले भनिन आफु अब बन्ने कानूनहरुको प्रतिक्षामा रहेको बताईन । महिला अधिकार मानव अधिकारकै प्रमुख विषय पनि हो । अहिलेको संविधानमा महिलालाई नेपालको कानूनी ईतिहाँसमै सबैभन्दा बढि सम्मान दिईएको छ भन्दा आपत्ति नहोला भनिन । तर यी अधिकारहरुलाई प्रयोग गर्ने बातावरण र कानूनी बाटोहरु भने प्रष्ट हुनु पर्दछ । उदाहरणका लागि आमाको नामबाट बंशजको नागरिकता प्राप्त गर्न सकिने, महिला र पूरुष बिच वंशका आधारमा कुनै भेदभाव नहुने जस्ता संवैधानिक प्रावधानहरुले गर्दा नेपालको संविधान २०७२ एक सुन्दर संविधान हो भनिन l

d

संयुक्त राष्ट्र संघको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ, नेपालमाथि लागेको अघोषित नाकाबन्दिको बारेमा संयुक्त राष्ट्र संघ किन नबोलेको भन्ने सवालमा उनि भन्छिन नेपाल र भारत छिमेकी मुलुकहरु हुन् । दुई देश बिचको आन्तरिक कुटनैतिक सम्बन्धमा यु.एन. ले बोल्ने वा हस्तक्षेप गर्ने कुनै आधार हुँदैन । तर भारतका कारण नेपालमा मानव अधिकारको गम्भिर उल्लंघन हुने परिस्थिति श्रजना भएमा भने यू.एन.(संयुक्त राष्ट्र संघ) ले अवश्य पनि उपयूक्त कदम चाल्ने छ भन्नेमा कुरामा आफु विश्वस्त छु भनिन । नेपाल सबल, सार्वभौम सम्पन्न मूलुक भएको हुँदा आफ्ना छिमेकीहरुसँगका कुटनैतिक कदमहरु चाल्न नेपाल सक्षम रहेकोमा आफु पूर्णतः विश्वस्त रहेको विचार राखिन l

नेपाल बाहिर बस्ने नेपालीहरुले सोचे जस्तो नेपाल झन झन गिर्दै र भासिँदै गएको हो त भन्ने अन्तिम जिज्ञासामा उनले यस्तो विचार पस्कीन ;

नेपालमा हरेक गाउँहरुमा बाटो, बिजुली, ईन्टरनेट (अंतर्जाल)र मोबाईल फोन (घुम्ती दूरभास) पुगीरहेका र विदेशिएका यूवाहरु देश फर्किएर लघु उद्यमी बन्ने क्रम बढ्दो छ । राजनीति, सरकारी सेवा र निजि क्षेत्रमा समेत यूवा पुस्ताको उल्लेख्य सहभागिता हुन थालेको छ ।

१० बर्ष अगाडिको नेपाल र अहिलेमा महिलाका राजनैतिक, नागरिक, सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारहरुमा आमूल परिवर्तन भैसकेको छ । नयाँ संविधान निर्माणले त झन राजनैतिक स्थायित्वको समेत सुचकहरु देखिने परिस्थिति निर्माण भएको छ भनिन l

उनले अगाडी भनिन चेतनाको स्तर व्यापक रुपमा बढ्दो छ । अब भन्नुस्, नेपाल कसरी गिर्दै वा भासिँदै गएको छ ? अबको १० बर्षमा नेपाललाई समुन्नती तर्फ बढ्दो देशको रुपमा पाउनु हुने छ भन्नेमा आफु निश्चिन्त भएको बताइन l

प्रतिक्रिया