बाजुराबाट फरार लुटेरा एक वर्षपछि पक्राउ

इनेप्लिज २०७२ कार्तिक ८ गते १३:०४ मा प्रकाशित

pakraauबाजुरा, ८ कात्तिक । बाजुरा जिल्लाको गोत्री गाविसका सचिव राजेश राय यादवले सदरमुकाम मार्तडीबाट सामाजिक सुरक्षा भत्ता बोकेर गइरहेको बेला एक वर्ष पहिले रु २० लाख रकम लुटेर भागेका बिमल शाहीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

गत वर्ष असार ३२ गते गाविस सचिव यादव, उनका प्राविधिक सहायक उमेश भण्डारी र कार्यालय सहयोगीको छोरा हिक्मतबहादुर शाहीलगायत तीनजनाको आँखामा खुर्सानी छर्केर उनले बोकेको सामाजिक सुरक्षा भत्ताबापतको रकम रु २४ लाख ६६ हजार ८०० रकममध्ये रु २० लाख लुटेर भागेको प्रहरीले बताएको छ ।

गोत्री गाविस–८ स्थित जोगी चौतारा भन्ने स्थानमा पुग्दा बाटोमा ढुकी बसेका बिमल शाही र दीपेशजङ्ग शाहीले संयुक्तरुपमा लुटेको प्रहरी कार्यालय बाजुराले पत्रकारसम्मेलनमा बताएको छ ।

गाविस सचिव यादवको साथमा रहेको झोला खोसी रु १०/१० लाखका दुई गड्डी गरी रु २० लाख तथा गाविस सचिवको रु दुई हजार ३०० पर्ने एमटिएस मोबाइल थान एकसमेत जबर्जस्ती चोरी गरी बाँकी रकम रु चार लाख ६६ हजार ८०० सहितको कालो झोला घटनास्थलमा नै फाली फरार रहेका एकजना आरोपी बिमल शाहीलाई पक्राउ गरिएको हो ।

आरोपी बिमल शाहीले यस अगाडि अछाममा समेत यस्तै खालको अपराध गरेर त्यहाँको जिल्ला अदालतले रहजनी चोरी मुद्दा दर्ता भई प्रथमपटक चार वर्ष दुई महिनाको कैद र रु २४ हजार रकम जरिमाना तोकिएको थियो । उनी त्यहाँबाट समेत फरार रहेको कुरा प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले बताउनु भएको छ ।

बिमललाई केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–१० बानेश्वरबाट पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया