कमल थापा ,राजतन्त्र र मधेशी र पहाडीबीचको सम्बन्धमा फुट ल्याउने घृणित खेल रचिएको छ

इनेप्लिज २०७२ कार्तिक ३ गते ७:२७ मा प्रकाशित

12166235_10156364213020019_645397463_nराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा यी पक्तिहरु लेखिंरहँदा नेपाल–भारत सम्बन्ध सुधार गर्ने प्रयोजनले नयाँदिल्लीमा छन् । पछिल्लो समय विकास भएको दुई देशबीचको पारवहन अवरोध यति जटिल छ कि थापाको तीन दिने यात्राले मात्र समाधान होला भनेर निश्चिन्त हुने अवस्था छैन । मधेशी मोर्चाको आन्दोलन दुई देशको सीमा क्षेत्रमा केन्द्रित भएको र भारतीय पक्षले आन्दोलनकारीलाई प्रष्ट समर्थन गरेका कारण थापाको भ्रमण सम्बन्ध थप बिग्रन नदिने हदसम्मका लागि मात्र सीमित हुने अवस्था छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीको भ्रमणका लागि पूर्वाधार बनाउने काममा भने यसले अवश्य काम गर्नेछ ।
कमल थापाले नयाँदिल्ली उड्नुअघि पत्रकारलाई भनेका पनि छन्, ‘सीमा–नाकामा देखिएको अवरोध अन्त्य गर्न प्रयास गर्नेछु ।’  यहाँ ‘प्रयास’ शव्दमा ध्यान दिनु आवश्यक छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रण जुराएर थापा नयाँदिल्लीतिर लागिरहेका बेला खासगरी शहरिया नेपालीका चुलाहरु निभ्न थालेका छन्– खाना पकाउने ग्यासको अभावमा । मन्त्री थापाले तीन करोड नेपालीको सद्भाव बोकेर भारत जान लागेको अभिव्यक्ति दिएर चिन्तनको उचाइ भने प्रष्ट देखाएका छन् । हिन्दु राष्ट्रधर्म र राजतन्त्रको पुनर्वहाली चाहने राप्रपा नेपालका समर्थकको प्रतिनिधिले मात्र सम्बन्ध सुधारको प्रयास गरिरहेको छैन, बरु सम्पूर्ण नेपालीको प्रतिनिधि बनेर उनी समस्या सुल्झाउने प्रयासमा लागेका छन् । संयोगकै कुरा हो– एक हिन्दुवादी नेता भारतमा हिन्दुवादी पार्टी भाजपाको सरकार रहेकै बेला वार्ताका लागि गएका छन् ।
हिन्दु संस्कारले पृष्ठभूमिमा रहेर योगदान दिनेहो भने कमल थापाको भारत यात्रा सफल हुने सम्भावना अवश्य बढ्नेछ ।
तर मननीय पक्ष के छ भने, हिन्दु संस्कारले बढी भूमिका खेल्ने अवस्था भने छैन । तराईमा भारतीय बुहारीलाई नेपालको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सेनापतिआदि बनाउन मोर्चा कसेर बसेका मधेशीहरु पनि हिन्दु नै हुन् । कमल थापाले बोकेर लाने हिन्दु संस्कारभन्दा रगतको नाता रहेको तराईको हिन्दुत्व सुष्मा स्वराजका लागि प्रिय छ । यति हो, ओली र थापाहरुलाई पनि धेरै टाढा राख्न भने भारत चाहँदैन तर राजेन्द्र महतो, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, उपेन्द्र यादवआदिका अगाडि थापा मझेरीसम्मका पाहुना मात्र हुन्, चुलोमा चढाइने सम्भावना छैन ।
भाजपाका नेतासँग नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रको प्रावधानका विषयमा थापाले चर्चा गर्ने र सहयोग माग्ने सम्भावना कति छ ? यो उठ्नुपर्ने तर नउठेको एक सबाल हो । दुई मुलुकका प्रतिनिधिसँगको औपचारिक वार्तामा त यो सन्दर्भ नउठ्ला, उठाउन पनि नमिल्ला तर अनौपचारिक भेटघाटमा थापाजस्ता जतुर नेताले के यो प्रसंग उठाएर आफ्नो दल र समूहको हितमा कुनै प्रयास नगर्लान् ? त्यसो त थापास्वयंले कति ठाउँमा नेपालमा अहिले राजतन्त्र फर्किने सम्भावना छैन भनेका पनि छन्, सत्य त्यही हो । तर विश्वमा रहेका १७ राजतन्त्रात्मक मुलुकमा समृद्धि र लोकतन्त्र दुवै छ । त्यसैले राजतन्त्र हुनु नै सामन्ती व्यवस्थाको पहिचान हो भन्न चाहिं मिल्दैन । बेलायत, जापान, स्पेन, डेनमार्क, थाइल्याण्ड, अरबी मुलुकआदि जहाँ राजतन्त्र छ त्यहाँ लोकतन्त्र र समृद्धि दुवै पर्याप्त छ । विगतमा नेपालबाट राजतन्त्र हट्नुको एक्लो कारण थियो– राजाको अनावश्यक राजनीतिक सक्रियता । परिस्थितिले राजालाई विगतमा सक्रिय बनाएको पनि हो, जनप्रतिनिधि देश र जनताका लागि समर्पित हुन नसक्दा राजाको महत्वाकांक्षा बढेको थियो । तर आज परिस्थिति बदलिइसकेको छ । नेपालमा राजतन्त्र हुँदा भाजपालाई पुग्ने सहयोगका दिशामा हिन्दुवादी दुई पक्षबीच कुनै कोणमा छलफल भए अन्यथा हुनेछैन ।
पछिल्लो समय भारतले नेपालको संविधान, २०७२ प्रति असन्तुष्टि देखाएको निश्चित हो । अरुले हेर्दा मधेशीका अधिकार नसमेटिएका कारण उसले असन्तुष्टि देखाएको हो तर त्यस संविधानमा भाजपा हिन्दु राष्ट्रका रुपमा नेपाल रहिरहोस् भन्ने पनि चाहन्थ्यो भन्ने यथार्थ बिर्सन मिल्दैन । छिमेकी भारतलाई औपचारिक रुपमा स्वीकार गर्न गाह्रो भए पनि यथार्थ के हो भने, मधेशी मोर्चाले दुई देशको सिमानामा अवरोध पु¥याउने जुन सफलता हासिल गरेको छ, त्यसमा भारतको आशीर्वाद प्रष्ट देखिन्छ । दुई मुलुकका प्रहरीको समन्वयमा सिमानामा बसेका आन्दोलनकारीलाई आधाघण्टाभित्र घर पठाउन सकिन्छ । नेपालको ९० प्रतिशत जनतालाई छोडेर अस्थायी प्रकृतिको शक्तिलाई रिझाउँदा भारतलाई फाइदा हुने त होइन, तरपनि उसले सानो आधार समातेर अप्रिय कदम चालिरहेको छ किन ? प्रष्ट छ, अवस्था सतहमा जे देखिएको छ, त्यो मात्र होइन ।
नेपाल र भारतबीच कायम रहेको जनस्तरको प्रगाढ सम्बन्धमा उकुच पार्ने काम मधेशी मोर्चालाई अघिसारेर थालिएको छ । मधेशी र पहाडीबीचको सम्बन्धमा फुट ल्याउने घृणित खेल रचिएको छ । आखिर किन ? झापा, मोरङ र सुनसरी जिल्लालाई प्रदेश नम्बर २ मा गाभ्नैपर्ने जो घिडघिडो देखाइएको छ, यसलाई हेर्दा आज वीरगञ्ज बन्द हुँदा पनि नेपालले सास फेरिरहेको अवस्थासँग पनि असैह्य हुनेहरु सक्रिय छन् भन्न बाध्य हुनुपर्छ ।
एमालेले एकीकृत माओवादी र राप्रपा नेपाललाई साथ लिएर सरकार बनाएपछि बढी भारतपरस्त र कम भारतपरस्त नेपाली दलबीच दुई चिरा देखिएको छ । जेहोस्, तत्कालका लागि प्रमुख दुई पहाड नेपाल सरकारका अगाडि उभिएका छन्– मधेशी मोर्चाको नाकाबन्दी र संविधानको कार्यान्वयन । संविधानको कार्यान्वयन विस्तारै हुँदैजाला, कोइरालाको उम्मेदवारीका बेला सत्तामोहले मधेशी मोर्चाका सभासद काठमाडौंमा अवतरण गरेझैं विस्तारै समय–परिस्थितिले कार्यान्वयन गराउला । तर मधेशी मोर्चाले गरेको नाकाबन्दीले मुलुकलाई नै समस्यामा पारको छ, सर्वसाधारणले मानवीय अधिकारबाट समेत वञ्चित हुनुपरेको छ । खाद्यान्न र ओखतीमुलोको पनि अभाव हुन थालेको छ । भारतको विकल्पमा अन्यत्र स्रोत खोज्नेगरी मसक्क आँट गर्न पनि सरकार र दलहरु तयार छैनन् । त्यसैले मधेशी मोर्चालाई सत्तासाझेदार गराएर सिमानाबाट उठाउन थापाले भारतीय नेतालाई मनाए भने उनको भ्रमणले सफलता पाउने छ ।

प्रतिक्रिया