छाडा चौपायाका कारण दुर्घटना बढ्दै

इनेप्लिज २०७२ कार्तिक ३ गते २:४१ मा प्रकाशित

cow-on-roadकञ्चनपुर, ३ कात्तिक । छाडा चौपायाका कारण कञ्चनपुरमा दुर्घटनाका घटना बढ्दै गएका छन् ।

अनुत्पादक चौपायालाई स्थानीय बासिन्दाले बजार क्षेत्रमा लगेर छाड्ने क्रम बढेपछि सडक दुर्घटनामा बढोत्तरी हुन थालेका हुन् ।

पूर्व–पश्चिम राजमार्ग छेउका झलारी, दैजी, महेन्द्रनगर र गुलरीया बजार क्षेत्रमा केही महिनायतादेखि चौपाया छाड्ने क्रम बढेको हो ।

चौपाया छाड्ने क्रमसँगै सडक दुर्घटनाका घटनामा बढोेत्तरी भएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चौपायाले लस्करै सडकमा बाटो काट्ने, सडकमै रातिका बेला बस्ने गरेकाले दुर्घटना बढेको ट्राफिक प्रहरी रामदत्त बडूले बताउनुभयो । दुर्घटनामा अधिकांश मोटरसाइकल चालक पर्ने गरेका छन् ।

हालसम्म चौपायाकै कारण आधा दर्जनभन्दा बढी दुर्घटना भएका छन् । स्थानीय पशुपालकले दूध दिँदासम्म चौपायालाई घरमा पाल्ने र दूध नदिने भएपछि बजार क्षेत्रमा लगेर छाड्ने गरेको झलारी बजारका स्थानीय चक्रबहादुर ऐरले बताउनुभयो ।

बजार क्षेत्रका फलफूल र तरकारी व्यापारीलाई समेत छाडा चौपायाले हैरान बनाएका छन् । पसलमा राखेको फलफूल र तरकारी खाइदिँदा नोक्सानी व्यहोर्नु परिरहेको व्यापारीको गुनासो छ ।

नगरपालिका कार्यालयले काञ्जिहाउसमा लगेर चौपायालाई थुन्दासमेत कोही पनि दाबी गर्न नआउने भएपछि बाध्य भएर छाड्नुपर्ने अवस्था रहेको छ ।

झलारी पिपलाडी नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले चौपायालाई बजार क्षेत्रमा लगेर छाड्नेको खोजीगरी चौपायाले पु¥याउने नोक्सानीको क्षतिपूर्ति तिराउनका लागि पहिचानको कार्य थालेको बताउनुभयो ।

प्रतिक्रिया