थोरै डलरले पनि ब्यवसाय गर्न सकिन्छ अमेरिकामा———————— —————— अमेरिकामा २ हजार डलरदेखि माथि गर्न सकिने ब्यबसायहरु

इनेप्लिज २०७२ कार्तिक ३ गते ०:५० मा प्रकाशित

Untitledअमेरिकाको साउथ क्यारोलिना राज्यकी एन्जी काडवेलको पाँच वर्षअघिको जीवन अत्यन्तै दर्दनाक र पीडादायी थियो । तर, अहिले उनको जीवनमा एकाएक​ कल्पना गर्नै नसकिने खुसी र परिवर्तन आयो । बच्चाका बाउले एक्कासि छाडिदिएपछि   तीन वटा बच्चा, बच्चाको रेखदेखको जिम्मेवारि उनिको काधमा आइपर्यो । आफू बसेको अपार्टमेन्टनजिकैको बजारमा स्थानीय एक हिस्पानिश​ महिलाले चलाइरहेको कपाल काट्ने ठाउँमा कपाल काट्न जाँदा उनलाई ठूलो उत्प्रेरणा मिल्यो । कपाल काट्ने महिलाले दिएको उत्प्रेरणापछि उनी गम्भीर भई सोच्न र कल्पना गर्न थालिन् । तर, चाहियो, पैसा, अनुभव र ज्ञान । चाइल्ड सपोर्ट​को दुई महिनाको चेक र कर दाखिला गर्दा सरकारबाट प्राप्त चार हजार डलर गरी जम्माजम्मी छ हजार डलरबाट बेवी सिटिङ्गको तालिम लिइन् र लाइसेन्स प्राप्त गरिन् । लाइसेन्स प्राप्त गरेपछि ठूलो अपार्टमेन्ट लिएर सुरु गरिन्, बेवी सिटिङ्गको ब्यवसाय । झन्डै दुई वर्षको यस ब्यवसायबाट जम्मा भएको थोरै आम्दानीले प्रोफेशनल क्लिनिङ्ग सर्भिस खोलिन् । पाँच वर्षको दौरानमा अहिले उनीसँग दुई सय बच्चा बेवी सिटिङ्गमा छन् भने तीन सय वटा घर तथा सरकारी कार्यालयहरू सरसफाईको ठेक्का पाएकी छिन् । अहिले घरमै बसीबसी बच्चाहरूको सामानको मार्केटिङ्ग, बेवी सिटिङ्ग र क्लिनिङ्ग सर्भिस गरी थुप्रै साना ब्यवसाय उनका हातमा छन् । र, उनलाई भ्याई नभ्याई छ । झन्डै छ हजारबाट सुरु भएको उनको लगानी र सानो ब्यवसायले ठूलो रूपमात्रै लिएन, अहिले उनको वार्षिक आम्दानी झन्डै आधा मिलियनको छ । यसरी उत्प्रेरणा र छ हजार डलरको लगानीले उनको जीवनमा सुख, समृद्धि र ब्यस्तताको आँधीबेहरी ल्याइदियो । कामको दवाव, शारीरिक एवं मानसिक तनाव ती सबै अहिले उनले भुलिसकिन् । एक्लो जीवनको दर्द र आर्थिक भारका कारण झेल्नुपरेका कठिनाई उनी सम्झिन पनि चाहँदिनन् पनि।

सपना बुन्ने, सपनालाई यथार्थमा बदल्ने, प्रतिवद्धता, ईच्छाशक्ति, चाहना, निर्णय क्षमतामा अडिग, साथीभाइ, नेटवर्क, बजेट, अनुभव, दक्षता, लगानी क्षेत्रको खोजी, स्थानको पहिचान, ब्यवस्थापन, धैर्यता र परिश्रमी हुने न्यूनतम आधारभूत कुराहरू ब्यवसायका मन्त्र हुन् । कुनै पनि ब्यवसाय गर्दा धैर्यता, संयमता, दीर्घ सोच र ठूलो छाती नबनाए प्रतिफल प्राप्त गर्न सकिँदैन । ब्यवस्थापन क्षमता, आर्थिक लेखाजोखा, आम्दानी, खर्च एवं आन्तरिक ब्यवस्थापन भएन भने ब्यवसाय टिक्न सक्तैन । अमेरिकामा ‘आफ्नो साहु आफैं बन्ने वा आफ्नो रोजगारदाता आफैं बन्ने भन्ने एउटा महत्वपूर्ण कठीन बाटो त छँदैछ । यसका लागि आवश्यक बजेट जुटाउनु अर्को कठीन चुनौती छ ।

तर, अवसर प्राप्ती र उपयोगका निम्ति आफू चलायमान नभएसम्म यो सम्भव छैन पनि । सुरुमा ब्यवसाय कोठाबाटै, अपार्टमेन्टमा बसेको स्थानबाटै, सानो खर्चमा, कम ओभरहेडमा, सकेसम्म घरकै संसाधन प्रयोग गरी साना ब्यवसाय गरेर मनग्य मुनाफा आर्जन गर्न सकिन्छ । लाग्न सक्छ कि, कहाँबाट, कति बजेटबाट, कसरी, कस्तो अवस्थामा, कस्तो ब्यवसाय, कसरी सञ्चालन गर्ने ? यस विषयमा आम समुदायको चासो र प्रश्न हुन सक्छन् । तर, ‘जहाँ ईच्छा, त्यहाँ उपाय’ ‘भगवानले पनि ‘तँ आँट, म पुर्याउँछु’ भन्नेजस्ता उखानहरू केवल उखानमात्र होइनन् ।

यसमा त्यतिकै यथार्थता पनि छन् । यसका लागि आफैंले आफ्नै वरिपरि आफ्नो लागि नै सक्रियता, खोजी र लगाम लगाउन जरुरी छ ।

डेभिड कोलेसारी अमेरिकाको मिलवाकिमा बस्ने गोरा हुन् । सन् १९९७ मा उनी नजिकैको हुलाक सेवामा हप्ताको झण्डैझण्डै ४० घण्टा काम गर्थे । मानिसहरूका घरघरमा चिठी पुर्याउँदा उनलाई एक्कासी घरको इन्स्पेक्सन गर्ने ब्यवसायको उपाय फुर्यो । हुलाकी छँदाको आम्दानीले उनलाई घर चलाउन कठीन संघर्ष गर्नुपथ्र्यो । तर, अब उनका सामु त्यो अवस्था छैन । उनले तालिम लिएर घरको इन्स्पेक्सन गर्ने काम सुरु गरे–पार्ट टाइमको रूपमा । अहिले उनलाई घरहरूको इन्स्पेक्सन गर्न भ्याइ नभ्याइ छ । यसको अलावा ती घरहरूमा आवश्यक पर्ने चिम्नी, इलेक्ट्रिकल आउटलेट, हिटिङआदिको सफाई र सामानको सप्लाईसमेत गर्दाको अर्को आम्दानी त छँदैछ । अहिले उनले एउटा घरको इन्स्पेक्सन गरेवापत तीन सय ७५ डलर लिने गरेका छन् । उनले एक वर्षमा झन्डै तीन सय ५० वटा घरहरू इन्स्पेक्सन गर्ने गरेका छन् । यसबाट उनको वार्षिक कमाई झन्डै एक लाख ३५ हजार र सामान सप्लाईबाट झन्डै तीन लाख डलर आम्दानी हुने गरेको छ । यी सबै जोड्दा छ वर्षमा उनको कमाई झन्डै आधा मिलियन डलर भएको छ । आखिर गर्दा नहुने के रहेछ र ? असम्भवलाई सम्भव बनाउने आधार र वातावरण प्रशस्त छ अमेरिकामा ।

आफ्नो सोच, त्यसलाई मूर्तरूप दिन आवश्यक तालिम र ज्ञान प्राप्ती, त्यसपछि लाइसेन्स र आवश्यक पर्ने पूर्वाधार र बजेट नै मुख्य सूत्रहरू हुन् । यसका अलावा ओभरहेड खर्चको लेखाजोखा, रकमको जोहो, ब्यवस्थापन, तालिम र लाइसेन्सका चुनौतीहरू एकातिर भए पनि सहज र सजिलो के नै छ र ? श्रमको मूल्य, महत्व र इज्जत अमेरिकाको सुन्दर पक्षहरू हुन् । थुप्रै यस्ता ब्यवसायहरू छन्, जुन घरबाटै वा सानो बजेटमा सुरु गरी सानो खर्चमा सञ्चालन गर्न सकिन्छ । दुईदेखि पाँच हजार डलर, १० हजार डलर, १५ हजार डलर, २० देखि ५० हजार डलरसम्मका साना ब्यवसाय जसले लाखौं लाख डलरको कारोवार गरी प्रशस्त आम्दानी दिन सक्दछ र आर्थिक स्वतन्त्रताको अनुभूति दिलाउन सक्दछ । लाग्न सक्छ, हामी अधिकांशलाई अमेरिकामा ब्यवसाय गर्न थुप्रै डलर चाहिनेछ । कुरा त्यसो होइन । मात्र चाहिनेछ ईच्छाशक्ति, सपना, प्रतिवद्धता, योजना, तन, मन, निर्णय क्षमतामा कठोरता र ब्यवस्थापन । धेरैलाई विश्वास नलाग्न सक्छ कि अमेरिकामा दुई हजार डलरदेखि पाँच हजार, १० हजार, १५ हजार, २० हजार, ३० हजार र ५० हजारसम्मका लगानीमा सानै ब्यवसायबाट घरखर्च मात्रै नभएर आर्थिक समुन्नति र स्वतन्त्रताको आधारशिला हुनसक्छ । धेरै लगानी गरेर धेरै कमाउन सकिन्छ र धेरै मुनाफा हासिल गर्न सकिन्छ भन्ने होइन । सानै ब्यवसायबाट दुई चार वटा कुराहरूमा ध्यान दिन सके र परिश्रमलाई केन्द्रविन्दू बनाउन सके मानिस आर्थिक सम्पन्नता र सफलताको धुरीमा पुग्न बेर लाग्दैन । आफ्नो साहु आफैं बनी आत्म सम्मान, आत्म स्वतन्त्रता र आत्म सन्तुष्टिसँगै जीवनमा ‘पिस अफ माइन्ड’ को अनुभूतिलाई कुनै दौलतसँग दाँज्न सकिँदैन ।

अटोमेटिभ विजनेश कन्सल्टिङ, बच्चा तथा सिनियर केयर सर्भिस, सरसफाई, कम्प्युटर तथा इन्टरनेट शिक्षा, खुद्रा ब्यवसाय, फिटनेश तथा ब्यूटी, खाद्यान्न, हेल्थकेयर तथा दिवा होमवेस, होटल तथा ट्राभल, घरपालुवासम्बन्धी सेवा, फोटोग्राफी, रियल स्टेट, लेखा तथा कर, पेन्टिङ, सिजनल वस्तुहरूको उत्पादन तथा बजार मार्केटिङ, विभिन्न उत्पादनहरूको एजेन्ट र मार्केटिङ ब्यवसाय, दोभाषेलगायतका यति धेरै सम्भावनाका क्षेत्रहरू छन् कि डलर जताततै छरिएको छ । तर, टिप्ने कलामात्रै चाहिएको हो । अमेरिकामा ह्याण्डी कामहरू, अड जबलगायतका कामहरूका माग प्रशस्तै बढ्दैछ । प्लम्बिङ, बिजुली, रङरोगन, मर्मत सम्भार, गाडी मर्मत तथा सफाई, विभिन्न उत्पादन कम्पनीहरूको एजेन्ट, सदस्य र मार्केटिङआदि कामहरू अमेरिकामा पर्याप्त छन् । र, तिनीहरूको आवश्यकता पनि दैनिक बढ्दै गइरहेको छ । सम्बन्धित कामहरूको तालिम, लाइसेन्स र कानुनी आधारहरू पूरा गर्न, मार्केटिङ तथा

प्रचार प्रसारका लागि न्यूनतम खर्च पाँच हजारदेखि १५ हजारसम्म हुन सक्छ । वेभपेज निर्माण, टेक्निसियन, एप डेभलपमेन्ट, बूक किपिङ, बिजनेश कल्सल्टेन्सी, पार्टी रेन्टल, लन केयर, ट्युसन केन्द्रआदिको लगानी पाँचदेखि २० हजारसम्म भए पनि वर्षमा ४० हजार डलरदेखि एक लाख डलरसम्म कमाउन सक्नेछन् ।

रङरोगन ब्यवसायकै कुरा गरौं । अनुभव, ज्ञान, तालिम र क्षमता भएपछि यो ब्यवसायमा काम पाउन खासै गाह्रो छैन । भ्याइ नभ्याइ छ अमेरिकामा । सेवाग्राहीले कम्तीमा २० डलरदेखि हेरीहेरी घण्टाको एक–दुई सय डलरसम्म तिर्नुपर्दछ । सेवा लिनेले यस्ता कामहरू लगाउँदा आवश्यक गाडी, लुगा, भर्याङ, ब्रस, पेन्टिङलगायतका अत्यावश्यक वस्तुहरूको खरिद नै यस ब्यवसायमा आवश्यक पर्ने मुख्य वस्तु हुन् । हेर्दा दुईदेखि तीन हजार डलरसम्मको लगानी आवश्यक पर्दछ । लाइसेन्स, प्रचार प्रसार, विजनेश कार्ड, वेभसाइडआदि काममा थप दुई हजारसम्म गर्दा रङरोगनब्यवसायका लागि पाँच हजार डलरसम्मको लगानी गरे पुग्छ । साथसाथै प्रेसर वासर, पेभ निर्माण, मर्मत, पार्किङलट मर्मतलगायतका सहायक कामहरूको सेवा प्रदान गर्दा यस ब्यवसायबाट वर्षमा दुई लाख डलरसम्म आम्दानी गर्नसकिने रहेछ ।

त्यस्तै मोवाइल फूड सर्भिस, ग्रिन कन्सल्टेन्ट, बेवी तथा सिनियर सिटिङ, चिल्ड्रेन इनरिचमेन्टलगायतका क्षेत्रमा पनि सानै लगानी गर्ने हो भने एक लाख डलरभन्दा बढी पर्दछ । तर, घरकै भान्सा प्रयोग गरी घरकै सवारी साधन र परिवारका सदस्यहरू नै सहभागी भए यो ब्यवसाय २० हजार डलरभन्दा कममा सुरु गर्न सकिन्छ । अमेरिकाको भरमण्टलगायतका अन्य थुप्रै राज्यहरूमा क्याटरिङ ब्यवसाय घरकै भान्साबाट सुरु गर्न सकिनेछ । तर, राज्य तथा स्थानीय सरकारी कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । होम पार्टि बिजनेशजस्ता ब्यवसाय, टपर वायर, एभोन कस्मेटिक, ईबे, बिजवाइजस्ता मार्केटिङ कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवाहरूलाई तल्लो तहसम्म पुर्याउन स्वतन्त्र एजेन्ट र स्थानीय मार्केटिङ कम्पनीहरूको खोजी गर्दछ । ती कम्पनीहरूको किताब, क्याटलग तथा सेवा जानकारी खरिद गरिसकेपछि ती ब्यवसायको एजेन्ट बन्न सकिन्छ । त्यस्तै, वाइन कम्पनीहरू, उत्पादनहरू, अनलाइन मार्केटिङ, दोभाषे सेवालगायतका ब्यवसायका लागि दुईदेखि सात हजारसम्मको लगानी गरेपुग्छ ।

त्यस्तै, प्राइभेट इन्भेष्टिगेसन, डाटावेस कम्पनी, ट्रान्सलेटर तथा इन्टरप्रेटरका लागि लाइसेन्स, बीमा, तालिमआदिसबै गरी दुई हजारदेखि पाँच हजार डलरसम्म लगानी गरे पुग्छ । यसबाट वार्षिक ६० देखि ८० हजार डलरसम्मआम्दानी हुनसक्छ ।

ह्यान्डीमेडकै कुरा गरौं न । अधिकांश राज्यका कतिपय अपार्टमेन्टहरूमा आफू बसुन्जेल त्यहाँ बिग्रे भत्केको बत्ती,ट्वाइलेटलगायतको मर्मत सम्भार गर्ने जिम्मा बस्ने मानिसकै हुन्छ । घर हुनेको कुरै छाडौं, कहाँ, कतिबेला केबिग्रिन्छ भन्ने ठेगान हुँदैन । आफूसँग बनाउने ज्ञान हुँदैन । बनाउने मानिस बोलाउँदा कम्तीमा दुई सय डलरभन्दा घटीको बील हुँदैन । घरको पानी, बाथरुम, बत्ती, भूईं, एसी, भित्ता, ढोका, झ्याल, गार्डेन मर्मत आदिमा लाग्ने खर्च लुकेर बसेको हुन्छ । कति बेला कति खर्च हुन्छ थाहै हुँदैन । यस्ता कामहरूमा आवश्यक पर्ने मानवीय श्रोत प्राविधिकहरूको कमी हुँदै गइरहेको छ अमेरिकामा । यसका लागि तालिम, लाइसेन्स, भ्यान, आवश्यक मर्मत यन्त्रहरू, इन्धन, भर्याङलगायतका अत्यावश्यक वस्तुहरूको जोहो गरी यो ब्यवसाय सञ्चालन गर्न बढीमा १० हजार डलर लाग्न सक्छ । यस्ता प्राविधिकहरूलाई अमेरिकामा घण्टाको सामान्य ३० डलरदेखि दुई सय डलरसम्म तिर्नुपर्छ । अमेरिकामा यो ब्यवसाय अत्यावश्यकभित्र पर्दछ । यस ब्यवसायबाट अमेरिकामा ५० हजारदेखि दुई लाख

डलरसम्म आम्दानी गर्न सकिन्छ ।समग्रमा, अमेरिका भनेकै साना ब्यवसायले धानेको छ । जहाँ ७८ प्रतिशत रोजगार यस क्षेत्रले धानेको छ भने यसमुलुकको कुलमध्ये ८१ प्रतिशत राजश्व यस क्षेत्रबाट संकलन गर्दछ । अमेरिकामा साना ब्यवसायमा १.७ मिलियन मानिस संलग्न छन् । अवसरको मुलुक अमेरिकामा आर्थिक आधारको स्तम्भ भनेकै साना ब्यवसाय हुन् । जुन सञ्चालनका लागि धेरै रकम आवश्यक पर्दैन । मात्र ईच्छाशक्ति, क्षमता र परिश्रमको खाँचो पर्दछ ।

अन्त्यमा, विजय दशमी २०७२ को उपलक्ष्यमा देश–विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त

गर्दछु ।

(लेखक बरिष्ठ वातावरण पत्रकार, अमेरिका-नेपाल व्यवसायी संघका कार्यवाहक अध्यक्ष र अमेरिकन चेम्बर अफ

कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया