बिहीबार, मंसिर ११ २०७७
काठमाडौं २३:४१
वासिङटन डिसी 12:56

नेपालले अमेरिकाको सामना गर्ने

इनेप्लिज २०७२ कार्तिक १ गते १४:३० मा प्रकाशित

cricket123431काठमाडौँ, १ कात्तिक । मलेसियामा जारी आइसिसी १९ वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल संयुक्त राज्य अमेरिकाको सामना गर्ने भएको छ ।

मलेसियाको क्वालालम्बुरस्थित किनररा एकेडेमीमा हुने सो प्रतियोगितामा नेपालले विजय लक्ष्यका साथ भोलि सोमबार अमेरिकाको सामना गर्न लागेको हो । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवै खेलमा जित हासिल गरेको छ ।

नेपाली युवा टोलीले पहिलो खेलमा पपुवान्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गरेको थियो भने दोस्रो खेलमा युगान्डालाई १७१ रनको भारी अन्तरले पराजित गरेको थियो । जारी प्रतियोगितामा नेपालले चार अङ्क जोडेको छ ।

विभिन्न पाँच टोलीले भाग लिएको उक्त प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्याण्ड, युगान्डा र पपुवान्युगिनी सहभागी छन् । उक्त छनोट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने १९ वर्षमुनिको विश्वकप च्याम्पियनसीप खेल्न पाउनेछ ।

उन्नाइस वर्षमुनिको विश्वकपमा आइसिसीका १० पूर्ण सदस्य राष्ट्रहरु वेष्ट इन्डिज, अस्ट्रेलिया, जिम्बाब्वे, बङ्गलादेश, बेलायत, न्युजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र भारत सहभागी हुनेछन् ।

त्यस्तै, उक्त प्रतियोगिताका लागि स्कटल्याण्ड, अफगानिस्तान, नामिबिया र क्यानाडाले छनोट चरण पार गर्दै विश्वकपको यात्रा तय गरिसकेका छन् । उक्त प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले भारतको नयाँ दिल्लीमा दुई हप्ता अभ्याससमेत गरेका थिए ।

त्यस्तै भोलि सोमबार नै हुने अर्को खेलमा आयरल्याण्ड र युगान्डा आमनेसामने हुनेछन् ।

प्रतिक्रिया