बुधबार, मंसिर १० २०७७
काठमाडौं १९:४७
वासिङटन डिसी 09:02

शिक्षाका मौलिक हक कार्यान्वयन गर्छु: शिक्षामन्त्री पोखरेल

इनेप्लिज २०७२ कार्तिक १ गते १४:२३ मा प्रकाशित

Girirahmani_Pokharel_449559845काठमाडौँ, १ कात्तिक । नवनियुक्त शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ संविधानमा भएका शिक्षासम्बन्धी मौलिक हक र अन्य व्यवस्था पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्राललयमा पद बहालीपछि आयोजित स्वागत कार्यक्रममा मन्त्री पोखरेलले संविधानको कार्यान्वयनमा शिक्षा मन्त्रालयका तर्फबाट गरिनुपर्ने कामलाई प्राथमिकता दिने बताउनुभयो ।

उहाँले कर्मचारीलाई संविधान नपढेको भएमा दसैँ बिदाका समयमा पढेर शिक्षासम्बन्धी सबै व्यवस्थाबारे जानकार हुन आग्रह पनि गर्नुभयो ।

आफूले विद्यार्थीकालदेखि नै शिक्षा अधिकार हो भन्ने ‘मिसन’ बोकेको र अहिले कार्यान्वयन गर्ने ठाउँमा आएकाले त्यसलाई पूरा गर्ने विश्वास पनि उहाँले दिनुभयो ।

मन्त्री पोखरेलले दातृ निकायको प्रभावका आधारमा शिक्षा क्षेत्र चल्न नहुने भन्दै दाताको पछि नकुद्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले निरक्षरता उन्मूलन, गुणस्तर वृद्धि, विद्यमान शिक्षा ऐन, नियमको संशोधन, कक्षा छाड्ने प्रवृत्तिमा सुधार, चिकित्सा शिक्षाको व्यवस्थापन, संसदीय समितिका निर्देशनको कार्यान्वयन, उच्च शिक्षाको व्यवस्थापनलगायत आफ्ना प्राथमिकता रहेको सुनाउनुभयो ।

मन्त्री पोखरेललाई मन्त्रालयका निमित्त सचिव डा लवदेव अवस्थीले स्वागत गर्दै भूकम्पबाट प्रभावित आठ हजार विद्यालयको पुनः निर्माणको चुनौती रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया