सीमा क्षेत्रका बासिन्दाबाट महँगोमा तेल बिक्री

इनेप्लिज २०७२ कार्तिक १ गते १०:४० मा प्रकाशित

Petrol-In-bottleकावासोती, १ कात्तिक । भारतको अघोषित नाकाबन्दीका कारण धेरै नेपालीको चुलोमा ग्यास छैन । सार्वजनिक सवारीले पनि आवश्यकतानुसार इन्धन पाएका छैनन् ।

यस्ता बेलामा सीमा क्षेत्रका बासिन्दा भारतीय पेट्रोल पम्पबाट तेल खरिद गरी अन्य ठाउँका बासिन्दालाई दोब्बर र तेब्बर मूल्यमा बिक्री गरिरहेका छन् ।

यसमा भारतीय नं प्लेट भएका नेपाली र बिहारको पश्चिम चम्पारन जिल्लाका बगाहा गाउँका बासिन्दा सक्रिय छन् । गाउँको पेट्रोल पम्पमा तेल भरी उनीहरु नेपाली बजार त्रिवेणीमा ल्याउन मोलमोलाइ गछन् । भारु ७० मा प्रति लि पेट्रोल खरिद गरेर उनीहरु भारु १२० मा त्रिवेणीमा बिक्री गर्छन् ।

उनीसँग त्रिवेणीका रैथानेले किनेको पेट्रोल नेपालीलाई रु २३० देखि २८० सम्ममा खुलेआम बिक्री गर्छन् ।

भारत छिर्न र तेल भरेर नेपाल ल्याउने सास्तीका कारण उनीहरुले दोब्बर मूल्यमा बिक्री गर्ने गरेका हुन् । भारतबाट त्रिवेणी मोटरसाइकलमा पेट्रोल बिक्री गर्न ल्याएका रहमान यादवले भन्नुभयो, “एसएसबीको चेक जाँचको लाइन र पम्पमा लाउनुपर्ने लाइनका कारण महंँगोमा तेल बिक्री परेको छ ।” जाँचका कारण दुई ट्रिपभन्दा धेरै गर्न नसकिएको उनको गुनासो छ । चितवन, कास्की र नवलपरासी क्षेत्रबाट जानेहरु लाइनमा बसी आफ्ना सवारी साधनमा तेल भरेर साँझसम्म घर फर्कने गरेका छन् ।

लाइन बस्न नचाहनेले रु २२० देखि रु २५० सम्मको मोलमोलाइमा पेट्रोल किन्ने गरेका छन् । कतिपयले भारतीय पक्षको पश्चिम चम्पारन जिल्लाका डिएम जाती भएकाले नेपाली सवारीसाधन भारत गरेर तेल भर्न पाएको तर्क गर्छन् । जाँदा–आउँदा एक दुई किमी लाइन सिमामा बस्नुपर्छ र सोही अनुपातमा पेट्रोल पम्पमा पनि । कावासोतीका विक्रम पाण्डेले यति लामो लाइन बसेर तेल ल्याउँदा पनि नेपालका सशस्त्र प्रहरी इन्धनका लागि भारतको पेट्रोल पम्पमा गएर जर्किनमा आफैँ तेल भर्न लाइन मिच्ने गर्दा दुखेसो पोख्नुभयो ।

जर्किनमा ल्याइएको तेल नेपाल भित्र्याउन एसएसबीले नदिएपछि सशस्त्र प्रहरीका ती जवानले एसएसबीका इन्सपेक्टरलाई स्टाफ भएकाले तेल दिन अनुनय विनय गरे । जवाफमा ती इन्सपेक्टरले तिम्रो आइडिकार्ड ल्याऊ अनि सशस्त्र प्रहरीले इन्डियाबाट तेल लगेर दुई नम्बरीमा बिक्री गर्छ भनेर प्रेसमा खबर दिन्छु भने तर पनि उनले अनुनय विनय गरिरहे । दुई देशबाट जे पनि सहजै लान नपाइने नियम उनले सिकाउँदै थिए ।

दसैँमा उपभोग्य वस्तुको बजारमा अभाव हँुदा पनि स्थानीय प्रशासनले प्रभावकारी अनुगमन गर्न नसकेको प्रति स्थानीयवासीले रोष प्रकट गरेका छन् । “राज्य आर्थिक रुपमा सबल नहँुदा जनताले पीडा भोग्नु परे पनि प्रशासक नै लाचार हुँदा दुःख पाइएको हो”–पाण्डेले भन्नुभयो ।

प्रतिक्रिया