बेनी–मल्लाज पदमार्ग निर्माण

इनेप्लिज २०७२ असोज ३० गते ३:०१ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ३० असोज । म्याग्दी सदरमुकाम बेनीबजारदेखि उत्तरी पर्वतको माझफाँट गाविसको मल्लाज जाने उकालोमा पदमार्ग निर्माण भएको छ ।

विकास नेपाल एसोसिएसन बेल्जियमको आर्थिक सहयोगमा बेनी बजारको कालीपुलदेखि माझफाँटको डिलफाँटसम्म एक हजार ६६५ मिटर लामो पदमार्ग निर्माण गरिएको हो । पदमार्गमा दुई हजार ९४ वटा पक्की सिढी र डिलमा ८२५ वटा पिल्लर निर्माण गरिएको कालीपुल डिलफाँट घोरेटोबाटो निर्माण समितिका अध्यक्ष रामबहादुर विकले बताउनुभयो ।

पदमार्ग निर्माणपछि म्याग्दी बेनी, पर्वत बेनी, मल्लाज, लेकफाँट, बाँसखर्क र राम्चेका बासिन्दा लाभान्वित भएका छन् ।
पदमार्ग बनाउन विकास नेपाल एसोसिएसन बेल्जियमले दुई चरणमा रु ६२ लाख सहयोग गरेको जनाएको छ ।

माझफाँट गाविसले रु तीन लाख र पर्वत जिविसले रु ५० हजार सहयोग गरेको पदमार्गमा स्थानीयवासीले पनि थप रु सात लाख ३० हजार बराबरको चन्दा सहयोग र श्रमदान गरेका छन् ।

पदमार्गको बीचमा बेनीका व्यवसायी मोहन बरुवालले प्रतीक्षालय निर्माण र खानेपानीको धारा जडान गर्नुभएको छ ।

यात्रु सहायता कक्ष स्थापना

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

नजिकिँदै गरेको पर्व दसैँ, तिहार र छठको समयमा सार्वजनिक यातायातको भाडामा हुन सक्ने अनियमितता, चोरी, डकैटी, अलपत्रमा परेका यात्रु र सामानको सुरक्षाका लागि बेनी बजारको कालीपुल बसपार्कस्थित ट्राफिक प्रहरी कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख रामचन्द्र क्षेत्रीले सहायता कक्षमा एक प्रहरीलाई नियमितरुपमा खटाउने बताउनुभयो ।

प्रतिक्रिया