गैरआवासीय नेपाली संघको सातौं अन्तराष्ट्रिय को प्रेस विज्ञप्ति

इनेप्लिज २०७२ असोज २७ गते २३:३९ मा प्रकाशित

DSC_1592

गैरआवासीय नेपाली संघको सातौं अन्तराष्ट्रिय अधिवेशन काठमाण्डौंको सोल्टी होटलमा बुधबार सुरु भएको छ । विश्वका ७१ मुलुकबाट आएका करिव १ हजार दुई सय प्रतिनिधिको उपस्थीतिमा अधिवेशन सुरु भएको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो र प्रमुख सरंक्षक रामप्रताप थापाले अधिवेशनको संयुक्तरुपमा उदघाटन गर्नुभयो ।
अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष शेष घलेले संस्थाका अगाडी गम्भिर जिम्मेवारी र अथाह सम्भावना रहेकाले गैरआवासीय नेपालीहरुले त्यो जिम्मेवारी बहन गर्न सक्नेगरी तयार हुनुपर्ने बताउनुभयो ।
दुई बर्षको अवधिमा संस्थाले हाँसिल गरेका उपलब्धिबारे जानकारी दिँदै अध्यक्ष घलेले हालै नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्राबधान समेटिएपछि नेपालमा पूँजी र सीप लगानीका लागि गैरआवासीय नेपालीको जिम्मेवारी बढेको बताउनुभयो ।
‘नेपालमा सीप र पूँजी लगानीका लागि हामीले गरेको प्रतिबद्धता अब पुरा गर्ने बेला आएको छ ।’ अध्यक्ष घलेले भन्नुभयो ।
गैरआवासीय नेपाली संघलाई ७१ मुलुकमा फैलिएका नेपालीको साझा र सुन्दर फुलबारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले १३ बर्षको बिचमा संस्थाले गरेको उन्नती र प्रगतिप्रति खुसी ब्यक्त गर्दै गैरआवासीय नेपालीहरुको सीप र पूँजी नेपालमा ल्याउन सके मुलुकले सम्बृद्धि हाँसिल गर्न सक्ने बताउनुभयो । मुलुक धनी नभएसम्म ब्यक्ति धनी हुनुको खासै अर्थ नरहने भन्दै संस्थापक अध्यक्ष महतोले बिदेशमा रहेका नेपालीहरुको संख्या घट्दै जानुपर्ने र नेपालमै रोजगारी र अबसरहरुको बृद्धि हुनुपर्ने बताउनुभयो ।

DSC_1595
संस्थाका प्रमुख संरक्षक रामप्रताप थापाले गैरआवासीय नेपालीहरुको मागलाई सम्बोधन गर्दै संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान राखेकोमा खुसी ब्यक्त गर्दै यसले नेपालमा परोपकारी काम तथा लगानी अभिबृद्धिका लागि आयाम थप्ने बताउनुभयो । यसले मातृभूमीसँगको सम्बन्ध चीरस्थायी राख्न भूमिका खेल्ने उहाँको भनाई थियो ।
अधिवेशनलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष जीवा लामिछाने र पूर्व अध्यक्ष देवमान हिराचनले गैरआवासीय नेपाली अभियानको मर्म र लक्ष्यबारे प्रकाश पार्दै अधिवेशन तथा सम्मेलन सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
प्रतिबेदन पारित
अधिवेशनको उद्घाटन सत्रपछि बन्द सत्र सुरु भएको थियो । बन्द सत्रमा महासचिव कुमार पन्तले पेश गर्नुभएको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष डा. बद्री केसीले पेश गर्नुभएको आर्थिक प्रतिबेदन पारित भएको छ ।
यसैगरी बिधान समितिका संयोजक डा. हेमराज शर्माले पेश गर्नुभएको प्रस्ताव आबश्यक छलफल र संसोधनपश्चात पारित भएको छ ।
जसअनुसार अन्तराष्ट्रिय समन्वय परिषद्मा अब एक महिलासहित तीन जना उपाध्यक्ष रहनेछन् भने एक सचिव र सहकोषाध्यक्ष पद थप गरिने भएको छ । यसैगरी ६ वटै क्षेत्रमा महिला क्षेत्रीय उपसंयोजक र युवा क्षेत्रीय उपसंयोजक पदसमेत थप गरिएको छ ।
पहिलोपटक बिद्युतीय मतदान हुने
यसैवीच गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने भएको छ । संघले पहिलोपटक नेपालमै बनेको बिद्युतीय मतदान मेसिनको प्रयोग गरी चुनाव गर्ने भएको हो । यसले मतदान र मत गणना प्रकृया सरल र छिटो हुने छ ।

DSC_1618
गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि बुधबार बिभिन्न पदमा मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ । मत परिणाम बिहीबार साँझ नै आउने अपेक्षा गरिएको छ । नवनिर्वाचित कार्यसमितिले शनिवार सपथ लिने कार्यक्रम रहेको छ ।
यसैवीच नेतृत्व चयनसँगै शुक्रबार बिहान गैरआवासीय नेपाली संघको सातौ बिश्व सम्मेलन सुरु हुने छ । ‘एनआरएनएः राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ भन्ने नारासहित सुरु हुने यो सम्मेलन भूकम्पपछिको पुनःनिर्माणकै सेरोफेरोमा केन्द्रीत रहने छ । राष्ट्रपति डा. रामबरण यादवले उदघाटन गर्ने सम्मेलनको समापन घोषणापत्र जारी गर्दै शनिवार समापन हुने छ ।

मन केसी
प्रवक्ता
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्
थप जानकारीका लागि सम्र्पकः ९८१००६८५७५
मितिः २०७२÷०६÷२७

प्रतिक्रिया